search logo
NOTIFICATIONS

रौतहटमा रुबी साहको जघन्य हत्याः आरोपी प्रेमी पक्राउ, हत्या स्वीकार गर्दै भिडियो सार्वजनिक

हाम्रो पेज

११ भाद्र २०८२, बुधबार १२:२८

रौतहट, ११ भाद्र । गत शनिबार साँझ गौर बजारस्थित कोठाबाट रुबी ब्यूटी पार्लर जान भन्दै निस्किएकी रुबी साहको हत्या भयो। आइतबार भारतको मुजफरपुरस्थित रोक्साटोल घर जाने तयारीमा रहेकी रुबी अनुहारमा फेसियल गर्न पार्लर गएकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, रुबी फेसियल गरेर बाहिरिएपछि मुख्य आरोपी लक्ष्मण पासवानले उनको हत्या गरेका थिए। सोही राति १० बजेतिर गौर सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका ९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा एउटा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्कालै घटनास्थल पुगे पनि शंकास्पद सुटकेस नखोली बिहानपख मात्र खोल्दा त्यसभित्र रुबीको शव फेला परेको थियो। एसपी नेत्रमणी गिरीका अनुसार, रुबी र लक्ष्मण पासवानबीच पहिलेदेखि प्रेम सम्बन्ध थियो। पासवानले इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले रुबीसँग आफ्नो स्कुलको बेलादेखि नै सम्बन्ध रहेको र अदालतमा गएर बिहे गरेको पनि बताएका छन्। उनले आफू गरिब भएकाले पारिवारिक तनावमा परेर रुबीको हत्या गरेको स्वीकार गरेका छन्। भिडियोमा उनले रुबीको हत्या गरेदेखि आफ्नो हात काँपिरहेको र रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन्। प्रहरीले रुबीको शव लुकाउन प्रयोग भएको ई रिक्सा चालक राजकुमार महरालाई सोमबार नियन्त्रणमा लिएको थियो। पासवानले महराको ई रिक्सा ५०० रुपैयाँमा भाडामा लिएर शव राखिएको सुटकेस फाल्न लगेका थिए। गगापिप्रा गाउँसम्म सुटकेस लैजाने योजना रहे पनि मुडलवा गेटनजिक पुगेपछि ईरिक्साको चक्कामा समस्या आएको र त्यसपछि ई रिक्सा फिर्ता पठाई सुटकेस सडकमै छाडेर पासवान भागेको प्रहरीको भनाइ छ। महराले भने सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन्। रुबीको हत्यापछि फरार रहेका लक्ष्मण पासवानलाई मंगलबार राति इन्स्टाग्राममा केही बोलेको आधारमा प्रहरीले पिछा गरेको थियो। बुधबार बिहान करिब साढे ६ बजे माधवनारायण नगरपालिका–६ स्थित नहर अगाडि पासवानले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्।


आत्मदाहको प्रयासअघि उनले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेका थिए। उनले भिडियोमा भनेका छन्, रुबीलाई मारेदेखि मेरो हात काँपिरहेको छ। मेरो जान मरिसकेकी छन्। म बाँचेर के गर्नु। पक्राउ परे जेल जानुपर्छ। १०,१५ वर्ष सजाय भोग्नुपर्छ।प्रहरीले जलेर गम्भीर घाइते अवस्थामा फेला पारेका पासवानलाई नियन्त्रणमा लिएर गरुडास्थित एक अस्पताल पुर्‍याएको छ। उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिनुभयो। पासवान बोल्न नसक्ने अवस्थामा छन्, केवल मुन्टो हल्लाउने मात्र गर्छन्। उनको अनुहार पूरै डढेको छ।


एसपी गिरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन्। प्रहरीले पासवानको गौरस्थित डेराबाट रुबीको चप्पल फेला पारेपछि हत्यामा उनकै संलग्नता भएको निष्कर्षमा पुगेको थियो। पासवान केही समयअघि मात्रै मलेसियाबाट नेपाल फर्किएको र विदेशबाट फर्किँदा ल्याएकै सुटकेस रुबीको शव फाल्न प्रयोग गरेको प्रहरीले पत्ता लगाएको छ। रुबीको १३ वर्ष पहिले भारतको मुजफरपुरका शिवसागर सुडीसँग विवाह भएको थियो। केही महिना पहिलेदेखि मात्रै उनी छोरालाई पढाउन आमासँग गौरमा डेरा लिएर बस्दै आएकी थिइन्। रुबीले छोरालाई जुस ल्याइदिन्छु भनेर फोन गरेको पनि खुलेको छ। रातिसम्म घर नफर्किएपछि आमाले खोजी गर्दा उनको मोबाइल पहिले फोन उठेन र पछि स्वीच अफ भएको थियो। त्यसको केही समयमै सुटकेस फेला परे पनि भोलिपल्ट बिहान मात्रै शव रहेको खुलेको थियो।