search logo
NOTIFICATIONS

एमाले नेतृत्वका लागि मतदान, राति १० बजेसम्म सकिने, एक जनालाई भोट हाल्न ४० मिनेट

हाम्रो पेज

२ पुष २०८२, बुधबार १२:०३

काठमाडौं, २ पुष । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति विहानैदेखि मतदान जारी छ । विहान ९ बजेर १० मिनेट जाँदा पहिलो मतदान भएको विद्युतीय भोटिङ मेसिनमा ११ बजेर १० मिनेट जाँदासम्म २०० जनाले मतदान गरेका छन् । विद्युतीय भोटिङ मेसिनका व्यवस्थापक रामप्रसाद रिमालका अनुसार मतदाताले सुस्त गतिमा मतदान गरिरहेका कारण ढिलाई भएको हो । यही रफ्तारमा मतदान भए अबको १० घण्टामा मतदान सकिने अनुमान रहेको छ । अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य केही निर्विरोध भइसकेको र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ। मतदान भृकुटीमण्डपमै भइरहेको छ। दुई घन्टामा ३५० जनाले मतदान गरिसकेका छन्। एमालेमा २२ सय ६२ जना महाधिवेशन प्रतिनिधि छन्। एक जनाले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म लाग्ने गरेको छ। एमालेले आज राति १० बजेभित्रै मतदान सक्ने लक्ष्य लिएको छ। त्यसलगत्तै मतपरिणाम आउनेछ। विद्युतीय मतदान भइरहेको हो। नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन्। बुधबार भृकुटीमण्डमा सुरू मतदानमा पहिलो मतदान नै ओली र पोखरेलले गर्नुभएको हो । मतदानका लागि ८० वटा विद्युतीय मेसििन राखिएको छ। जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्। ५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा। विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्। महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्। त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्। ९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,। यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन्। प्रतिनिधिहरूले मतदान गर्न जानुअघि आफ्नो प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ। त्यस आधारमा मतदान स्थलमा प्रवेश पाइन्छ। कार्ड स्क्यान गरेर भित्र गएपछि त्यो कार्ड प्वाल पारिन्छ। त्यसपछि प्रतिनिधि भोटिङ मेसिन भएको ठाउँसम्म पुग्छन्। भोटिङ मेसिनमा सबै पदका लागि फोटोसहित उम्मेदवारको सूची राखिएको छ।

प्रतिनिधिले त्यही फोटो र नाम हेरेर इच्छाएको व्यक्तिलाई भोट हाल्न सक्छन्। अहिलेसम्म भोट हालेर फर्केकाहरूको अनुभव सुन्दा एक जनालाई कम्तिमा २५ मिनेटदेखि बढीमा ४० मिनेटसम्म लागेको छ। प्रविधिमैत्री प्रतिनिधिहरूले कम समयमै भोट खसालेर फर्केको पाइन्छ। अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले ४०–४० मिनेटमा भोट हालेका थिए भने उपाध्यक्ष उम्मेदवार विष्णु पौडेललाई २५ मिनेट र महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेलाई ३० मिनेट लागेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिनुभयो । भोटिङ मेसिनको स्क्रिनमा इच्छाएका व्यक्तिको नाममा दुईचोटि थिचेर डबल ट्याप भोट हाल्ने प्रविधि अपनाइएको छ। यसरी डबल ट्याप गर्दा भोटिङ फिर्ता पनि हुन सक्छ। त्यस्तो बेला स्क्रिनमै संकेत चिह्न देखापर्छ। संकेत चिह्न देखिएको अवस्थामा प्रतिनिधिले फेरि भोट हाल्न पाउँछन् वा आफ्नो भोट बदल्न पनि सक्छन्। उम्मेदवारहरूको सूची भोटिङ मेसिनको १५ वटा पेजमा बाँडिएको छ। प्रत्येक पेजमा नाम भएका सबै उम्मेदवारलाई भोट हालेपछि अर्को पेजमा जान पाइन्छ।

एउटा पेजमा भएका सबै उम्मेदवारलाई भोट हाल्यो कि हालेन भनेर स्क्रिनमै संकेत चिह्न आउँछ। कसैले कुनै पदमा भोट हाल्न छुटाएको रहेछ भने मेसिनले संकेत गर्छ। प्रतिनिधिले त्यसै अनुसार छुटेको पदमा भोट हाल्न सक्छन् वा त्यसलाई छोडेर अगाडि बढ्न सक्छन्। एउटा पेजबाट अर्को पेजमा फड्किनुअघि सबैलाई भोट हालियो कि हालिएन भनेर जाँच्न पाइन्छ। एकचोटि अगाडिको पेजमा फड्किएपछि फेरि फर्किएर आउन पाइँदैन। मतदान स्थलभित्र प्रतिनिधिहरूलाई मोबाइल लान बन्देज गरिएको छ। तर दुवै प्यानलका उम्मेदवारको सूची भने लान दिइएको छ। प्रतिनिधिहरूले त्यही सूची हेरेर आफ्नो प्यानलका उम्मेदवारलाई भोट हाल्न सकून् भनेर यसो गरिएको हो। जारी महाधिवेशनमा १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार छन् भने ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार छन्। सबैलाई भोट हाल्न करिब साढे तीन सय पटक बटन थिच्नुपर्छ।