search logo
NOTIFICATIONS

भारी वर्षा केही दिनलाई टर्‍यो, तर सतर्कता अपनाउन आग्रह, अर्को हप्ता भीषण वर्षाको सम्भावना

हाम्रो पेज

१ श्रावण २०८२, बिहीबार १२:४४
काठमाडौं, १ श्रावण I अपेक्षित भारी मनसुनी वर्षा केही दिनका लागि टरेको छ। नेपालमा भीषण वर्षा गराउने अनुमान गरिएको न्यून चापीय प्रणाली भारततिर मोडिएपछि केही दिन ठूलो वर्षाको सम्भावना टरेको मौसमविद्ले बताएका छन्। यद्यपि, आज देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ भने साना नदीहरूमा आकस्मिक बाढीको जोखिम कायमै रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू भागमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गएराति पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। बाढी पूर्वानुमान महाशाखाका अनुसार, कोसी, नारायणी, कर्णाली, महाकाली जस्ता प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै छ, तर जलस्तर बढ्दो क्रममा छ।
आज विशेषगरी इलाम, झापा, मोरङ, धनकुटा, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, रुकुम पश्चिम, जाजरकोट, दाङ, सल्यान, सुर्खेत, दैलेख, अछाम, कैलाली, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार, बंगालको खाडीमा उत्पन्न भएको न्यून चापीय प्रणाली भारतको बिहार हुँदै उत्तर प्रदेशको इलाहाबादतिर मोडिएकाले नेपालमा यसको प्रभाव कम परेको हो।
यो हप्ता ठूलो विपद् निम्त्याउने वर्षाको सम्भावना कम भए पनि अर्को हप्ता भने सतर्क रहनुपर्ने देखिन्छ। मौसमविद्हरूका अनुसार, आगामी आइतबारदेखि मंगलबारसम्म देशका पश्चिमी भूभागलगायत धेरै ठाउँमा भीषण वर्षाको सम्भावना छ। त्यसबेला तीनवटा फरकफरक वर्षा गराउने प्रणाली एकसाथ सक्रिय हुन सक्ने पूर्वानुमान गरिएको छ ।