झापामा बालेनः सांसद र मन्त्रीले खाएको तलबले देश डुबेको होइन, सुकुम्बासीलाई लालपुर्जा

हाम्रो पेज

२० माघ २०८२, मंगलवार १२:३५

झापा, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले नेपालको वर्तमान प्रदेश संरचनामा खर्च न्यून रहेको दाबी गर्नुभएको छ । चुनावी अभियानका क्रममा झापाको कमल गाउँपालिकाका स्थानीय सुकुम्बासी बस्तीमा स्थानीय युवाहरूसँग कुराकानी गर्दै शाहले राज्यको ढुकुटी मन्त्री र सांसदको तलबले मात्रै रित्तिएको भन्ने तर्कमा सत्यता नरहेको बताउनुभयो । ‘प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो,’ स्थानीयसँगको छलफलमा शाहले भन्नुभयो, ‘मन्त्री र सांसदले खाएको तलबले मात्रै देश डुबेको होइन ।’ छलफलका क्रममा एक स्थानीयले प्रदेश संरचना खारेज गरेर त्यहाँ बचत हुने बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका थिए । झण्डै २० वर्ष खाडी मुलुकमा श्रम गरेर फर्किएका ती स्थानीयले नेपालमा लगानी गर्ने वातावरण र पैसा नरहेको गुनासो गर्दै शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क वा सहुलियतपूर्ण बनाउन सकिने सम्भावनाबारे शाहलाई प्रश्न गरेका थिए । स्थानीयको प्रश्नको जवाफ दिँदै नेता शाहले संविधानमा निःशुल्क शिक्षाको व्यवस्था गरिए पनि कार्यान्वयनका लागि पर्याप्त बजेट नभएको यथार्थ सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा निःशुल्क गर्ने भनेर संविधानमा त लिखियो तर बजेट छैन ।’ उहाँले आर्थिक अवस्था कमजोर भएका नागरिकले पनि शिक्षा र स्वास्थ्यमा सहज पहुँच पाउनुपर्ने धारणा राख्नुभयो । ‘खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्‍यो, खल्तीमा पैसा हुनेले व्यापार गर्न पाउनुपर्‍यो,’ शाहले भन्नुभयो । यस्तै बालेनले झापा ५ को सुकुम्वासी बस्तीमा पुगेर सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने बताउनु भएको छ ।

बालेनले काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको भन्दै वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने बताउनुभयो । बालेनसँग स्थानीयले सुकुम्बासी बस्तीमा डोजर चल्ने हल्ला फैलिएको भन्दै त्यसलाई चिर्न आग्रह गरेका थिए । बालेनले सुकुम्वासीको नाममा राजनीति गर्ने र पहुँचवालाले मात्र पुर्जा पाउने प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । कसैलाई पनि विस्थापन गर्नुभन्दा पहिले उनीहरूको उचित व्यवस्थापन र सुरक्षित बसोबासको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा भूमि आयोगलाई निष्पक्ष बनाएर वास्तविक पीडितले मात्र पुर्जा पाउने व्यवस्था मिलाइने आश्वासन समेत दिनुभयो । झापा ५ मा चुनावी सरगर्मी बढिरहेका बेला रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार समेत रहनु भएका बालेन आफनो निर्वाचन क्षेत्र झापा ५ का स्थानीयका समस्या सुन्ने अभियानमा रहेको रास्वपा नेताहरुले बताएका छन् । बालेन केही दिन झापामै रहने कार्यक्रम रहेको छ । यहाँ अन्य प्रतिस्पर्धीहरु मध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालेनको कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । नेकपाले यहाँ रंजित तामाङलाई उम्मेदवार बनाएको छ ।