हाम्रो पेज

काठमाडौँ ,१६ श्रावण । नेपालमा सवारी चालक अनुमतिपत्र लाइसेन्सको अवधि अब दोब्बरले वृद्धि भई १० वर्ष पुगेको छ। सरकारले ‘केही नेपाल ऐन संशोधन’ मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई परिवर्तन गरेसँगै यो नयाँ व्यवस्था लागू भएको हो। यस महत्वपूर्ण कदमले लाखौं सवारी चालकलाई प्रत्येक ५ वर्षमा नवीकरण गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट ठूलो राहत मिलेको छ। यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारी चालक अनुमतिपत्रको म्याद जारी भएको मितिले ५ वर्षसम्म मात्र कायम रहने व्यवस्था थियो। तर, नयाँ संशोधनसँगै अब लाइसेन्सको म्याद १० वर्षसम्म मान्य हुनेछ। यसले चालकहरूलाई बारम्बार यातायात कार्यालय धाउनुपर्ने, लामो लाइन बस्नुपर्ने र नवीकरणका लागि खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति दिनेछ। ऐन संशोधनमार्फत सवारी साधनको जाँचपास सवारीको प्राविधिक परीक्षणको प्रमाणपत्रको अवधिमा पनि नयाँ व्यवस्था गरिएको छ। ‘उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच वर्षसम्म भन्ने शब्दहरुको सट्टा दश वर्षसम्म भन्ने शब्दहरु राखिएका छन्’, राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा २३ मा भनिएको छ, ‘दफा ५६ को उपदफा ३ मा रहेका पाँच वर्षसम्मको भन्ने शब्दहरुको सट्टा दश वर्षसम्मको भन्ने शब्दहरु राखिएका छन्।’ यो व्यवस्था अनुशार नयाँ सवारी साधनका लागि दर्ता भएको मितिदेखि पहिलो ५ वर्षसम्म, प्रत्येक एक एक वर्षमा जाँचपास गर्नुपर्नेछ, पुराना सवारी साधनका लागि ५ वर्षभन्दा पुराना प्रत्येक ६,६ महिनामा अनिवार्य रूपमा जाँचपास गर्नुपर्नेछ।
