हाम्रो पेज
विराटनगर, १२ जेष्ठ । जल तथा मौसम विज्ञान विभागले आज देशका केही जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ। मौसम विभागका अनुसार आज जेठ १२ गते दिउँसोपछि कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना छ। यसैगरी तलका प्रदेशका ती जिल्लामा पनि तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।
मधेस प्रदेशः बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला
बागमती प्रदेशः मकवानपुर र चितवनसहित आसपासका जिल्ला
गण्डकी प्रदेशः नवलपुर र तनहुँसहित आसपासका जिल्ला
लुम्बिनी प्रदेशः रुपन्देहीसहित आसपासका जिल्ला
यसैबीच हावाहुरी, वर्षा र चट्याङका कारण मोरङको विराटनगरका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । विद्युत् आपूर्ति अवरुद्ध भएको साढे १२ घण्टाभन्दा बढी समय भइसकेको स्थानीयले बताएका छन् । सोमबार ९जेठ ११०को हावाहुरी र वर्षाका कारण ३३ केभी विराटनगर ३, मल्टिफ्युल, कटहरी र विराटनगर औद्योगिक फिडरमा अहिले पनि ‘फल्ट’ देखिएको नेपाल विद्युत् प्राधिकारणले जनाएको छ । प्राधिकरणका अनुसार, धेरै ठाउँमा विद्युत् पोल भाँचिएको छ । रुख ढल्दा तार चुँडिएको छ । क्षति भएको ठाउँमा प्राधिकरणका प्राविधिक तथा कर्मचारी खटिएर मर्मत कार्य सुरु भइसकेको जनाइएको छ । तर, पूर्ण रूपमा मर्मतसम्हारको कार्य पूरा नहुन्जेल धेरै स्थानमा बिजुली आपूर्तिको सम्भावना न्यून रहेको प्राधिकरणको विराटनगर कार्यालयले जनाएको छ । प्राधिकरणका अनुशार क्षतिको विवरण संकलनको कार्य समेत थालिएको छ ।