हाम्रो पेज
विराटनगर, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीबाट चुनावी सभा सुरू गरेको छ। चुनावी सभालाई रास्वपाले परिवर्तन उद्घोष सभा भनेको छ।
भोलि बिहीवार सुर्खेतमा चुनावी सभा हुँदैछ I अरू प्रदेशमा पनि उद्घोष सभा हुनेछ। सभामामा उम्मेदवार र विशेषगरी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन्। धनगढीमा भएको सभामा वरिष्ठ नेता बालेनले जम्मा साढे ३ मिनेट मात्रै बोल्नुभयो । उहाँले रास्वपा भोट माग्न नभई काम माग्न आएको बताउनुभयो। बरू भोट नदिए हुने काम चाहिँ दिन आग्रह गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो। काम दिनुस्। तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। बरू के के काम छ लिस्ट बनाउनुस् र दिनुस्, उहाँले भन्नुभयो । वरिष्ठ नेता बालेनले रास्वपाको एजेन्डाको कुरा गर्नुभयो ।

खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनु पर्यो यो हो हाम्रो एजेन्डा। विपन्न गरिबले स्वास्थ्योपचार पाउनुपर्यो त्यो हो हाम्रो एजेन्डा । २ वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन। त्यो डेढ वर्षमा बन्नुपर्यो त्यो हो हाम्रो एजेन्डा। रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्यो, उहाँले भन्नुभयो । विकास निर्माणको काम गर्दा अघिल्ला सरकारले आफ्नो पार्टीको मतदाता बस्ने ठाउँमा काम गर्ने अन्यत्र नगर्ने प्रवृत्ति सुनाए र रास्वपा सरकारमा जाँदा त्यसो नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । बाटो बनाउनलाई यो भेगमा मेरो भोटर छैन यहाँको बाटो किन बनाउने यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने भन्छन्। रास्वपा सरकारमा गयो भने कांग्रेस हिडँने बाटो पनि बनाउछ। एमाले हिँड्ने बाटो पनि बनाउँछ। माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ, वरिष्ठ नेता बालेनले भन्नुभयो ।
वरिष्ठ नेता बालेनले सुदूरपश्चिमलाई विकासको दृष्टीले नजिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अघिल्ला सरकार र त्यसमा सहभागी दलहरूले बडिमालिका, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज नदेखेर स्वीट्जरल्याण्डको कुरा गर्ने गरेको बालेनको भनाइ छ। देशलाई स्वीटजरल्याण्ड बनाउनुपर्छ भन्छन्। स्वीट्जरल्याण्डको बाउ बडिमालिका यहिँ छ। किन बनाउनुपर्यो। रामारोशन यहिँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ। किन बनाउन पर्यो स्वीट्जरल्याण्ड। माल भाको चाल नपाको पर्यौं। भएको चिज देखाउनै सकेको छैन, सुदूरपश्चिमलाई जोड्नै सकेको छैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसँग।सुरूमा गीत बज्नुपर्यो, त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ, उहाँले भन्नुभयो ।

यस्तै सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताउनुभयो । ‘मत पत्रमा छाप लगाउने फागुन २१ मा हो । अहिले मनपत्रमा छाप लगाउने हो । सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्न काम बन्द हुनुपर्छ । सटर त एउटा बन्द हुनुपर्छ । बेथिति बेरोजगारीको सटर बन्द गर्ने हो सबै सटर बन्द गर्ने हो एकैपटक’ उहाँले भन्नुभयो । उहाँले अहिले पाँच वर्षको स्थायी सरकार माग गरेर जनतामाझ रास्वपा गएको भन्दै आफ्ना उम्मेदवारलाई भोट दिन पनि आह्वान गर्नुभयो । उहाँले राजनीतिक दलले चुनावमा गरेको बाचा पूरा नगर्दा जनताले दुःख पाउने अवस्था अन्त्य गर्न पनि रास्वपा अघि बढेको बताउनुभयो । ‘बाचा जसले गरेको हो सजाय उसैले पाउने हो । जनताले होइन । भारतमा काम गर्ने सुदूरपश्चिमका सबैलाई यहीँबाट सम्झना । मलाई थाहा छ परदेशको भूमि सजिलो छैन तर छुट्टि मिलाएरै भए पनि आउनुहोला देश बदल्नुपर्छ । यसपटक जनताले जित्नुपर्छ सँधै नेतामात्रै जितिरहेका छन्,’ उहाँले भन्नुभयो , ‘देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी आएका छौं । ‘ धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपाले जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा लेख्ने युगलाई अन्त्य गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौँ । अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ । अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकार भनेका हौँ ।’ उहाँले भारतसहित देशबाहिर भएकाहरूलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गर्नुभयो । यसअघि सधैँको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर छाड्ने बताउनुभयो । उहाँले यो चुनावमा मत नबाँड्नको लागि मतदातालाई आग्रह गर्नुभयो ।