हाम्रो पेज
विराटनगर, ३ फाल्गुन । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइदैंछ । आज महादेवको पूजा आराधनाकालागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।
फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, खोटाङको हलेसी महादेव, कुशेस्वर महादेव लगायतका शिवालयमा भक्तजनको घुईचो लागेको छ ।
महाशिवरात्रि सकारात्मक उर्जाको पर्वः मुख्यमन्त्री कार्की
यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूको महान पर्व मात्र नभई सत्य, संयम, सहिष्णुता र सकारात्मक ऊर्जाको पर्व भएको बताउनुभएको छ । आज शिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा शुभकामना जारी गर्दै मुख्यमन्त्री कार्कीले भगवान शिवको उपासना, तप, त्याग, करुणा र सहअस्तित्वको सन्देशले समाजमा सद्भाव, सहकार्य र आध्यात्मिक चेतना अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। सन्देशमा यस पर्वले सम्पूर्ण नेपालीहरूमा एकता, सामाजिक सद्भाव र सहिष्णुताको सन्देश प्रवाह गर्ने विश्वास पनि व्यक्त गरिएको छ। मौलिक परम्परा र चाडपर्वहरूले समाजलाई सांस्कृतिक रूपमा समृद्ध बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ। प्रदेश सरकारले २०८२ साललाई “कोशी पर्यटन वर्ष” घोषणा गरी मौलिक पर्व र राष्ट्रिय उत्सवहरूको संरक्षण र प्रवर्द्धनमा जोड दिएको उहाँले उल्लेख गर्नुभएको छ। प्रदेश सरकारले स्थापना कालदेखि नै सबै धर्म, संस्कृति र मौलिक पर्वहरूको संरक्षण र संवर्द्धनमा क्रियाशील रहेको तथा विविधतायुक्त समाजका परम्परा र संस्कृतिलाई सम्मान गर्दै अघि बढिरहेको सन्देशमा उल्लेख छ।
