search logo
NOTIFICATIONS

अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु, ३१ जिल्लामा बाढीको अलर्ट

हाम्रो पेज

१३ भाद्र २०८२, शुक्रबार ११:३३
एआईको सहयोगमा तयार पारिएको प्रतिकात्मक तस्वीर
काठमाडौं, १३ भदौ । मनसुनको भीषण वर्षासँगै गएको पहिरोले अछाममा ठूलो क्षति पुर्‍याएको छ। पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोलीमा गएराति खसेको पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएकी छिन्।

अछामका प्रहरी निरीक्षक टेकबहादुर बोहराका अनुसार, महिनावारी बार्न घरभन्दा टाढा त्रिपाल टाँगेर सुतेका तीनजनालाई पहिरोले पुरेको हो। ३५ वर्षीया निमा खनाल र सात वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते हुनुभएको छ । उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। रत्नाको टाउकोमा चोट लागेकाले अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, भिरमाथिबाट खसेको पहिरोसँगै आएका ढुङ्गाले लागेर उनीहरूको मृत्यु भएको हो। घटनाको विस्तृत विवरण संकलन गर्न प्रहरी टोली घटनास्थलतर्फ लागेको छ।

मनसुनको न्यून चापीय रेखाको प्रभावले देशभर बदली रही बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार राजधानी काठमाडौँसहित देशका ५२ जिल्लामा बाढीको जोखिम निम्तिन सक्ने सम्भावना औँल्याएको छ। महाशाखाले ३१ जिल्लालाई पहेँलो अलर्टु मा राखेको छ, जहाँ ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ। यी जिल्लाहरूमा दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन्।

त्यस्तै, इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, दाङ, जुम्ला, डोल्पा, मुगु, हुम्ला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाव पनि बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।