हाम्रो पेज
काठमाडौं, १५ जेठ I १८ औं गणतन्त्र दिवस बिहीवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच मनाइएको छ । सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।आज यस अवसरमा, गणतन्त्र आर्जन गर्न र यसलाई संस्थागत गर्न योगदान गर्ने अग्रजहरू, प्रत्येक राजनीतिकर्मी, न्यायकर्मी, निजामती–सुरक्षाकर्मी–र, सार्वजनिक सेवाका सबै राष्ट्रसेवक, नागरिक समाज, सञ्चारकर्मीसहित आम जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु । ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति सदा झैँ नतमस्तक हुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनको क्रममा घाइते र अपाङ्ग हुनुहुने सबै दिदीबहिनी– दाजुभाइहरूप्रति सम्मान व्यक्त गर्दछु ।
देशमा गणतन्त्रको बिहानी नहुँदासम्म बितेको कठोर कालो रात सम्भवतः आजको नवोदित पुस्ताको प्रत्यक्ष स्मृतिमा छैन । जायज होउन् वा नाजायज– आफ्ना मत र आग्रहहरूलाई सामाजिक सञ्जालमा निर्बाध व्यक्त गरिरहेको आजको पुस्ताले विचार र समाचारमा प्रतिबन्ध लागेका सञ्चार माध्यम र बन्द रहेका टेलिफोन तथा मोबाइलहरूको कथा मात्रै सुनेको हुनुपर्छ । त्यसबेला हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज आज निर्बाध रूपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई ‘जज’ गर्न पाउने ठाउँमा उभिएको छ ।
हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरू तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैँले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जात/जाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधिहरू चुन्छन् ।
सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरंकुशतन्त्रमा गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको छ । यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेका छन् ।
आजको दिनले हामीलाई विगतको संघर्ष, जनआन्दोलनसँगै तय गरेको गन्तव्य, सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई सम्झाउँछ । हिजोको गरिबी, हिजोको असमानता, हिजोको अविकास र हिजोको पछौटेपनबाट हामी निकै अगाडि बढिसकेका छौँ । देशमा निरंकुश राजतन्त्र र गणतन्त्र कालका विकास सूचकाङ्कहरुको तुलनात्मक अध्ययन गर्न म हाम्रो नवोदित युवा समाजलाई आग्रह गर्दछु । लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र अझ सुदृढ बनाएर हामी मुलुकलाई प्रगतिको बाटोमा लैजान सक्छौं ।
निरंकुशतन्त्र र गणतन्त्र– कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन । राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नु पर्ने धेरै कुरा हुन सक्छन् । गरिबी, बेरोजगारी, भ्रष्टाचार– राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिन्छ । इतिहास साक्षी छ– त्यो मुकुटको आडमा जनतामाथि शासन गरिएको थियो, सेवा होइन । राज्य यन्त्रलाई शासनबाट सेवा तर्फ प्रवेश गराउने काम गणतन्त्र आएपछि सुरु भएको हो, त्यो अझै सम्पन्न भएको छैन ।
इतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र जनताबीच संघर्ष र सम्झौताहरू भए । जनतासँग भएका सम्झौताहरुलाई पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए । जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात बंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ । तर स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा शाही इशारा ठूलो हो किमार्थ भन्न सक्दैन । हजारौँ शहीदको बलिदान र लाखौं नेपालीको सपनाभन्दा अढाई सय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछाौटे अवस्थामा पुर्याउने एउटा वंशको विशेषाधिकार कुनै अर्थमा पनि ठूलो हुनै सक्दैन । स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस् कसैले भन्न सक्दैन ।
इतिहास स्मरण गर्ने हो–मनन गर्ने हो, हामी बाँच्ने त वर्तमानमै हो ।
हिजो जनताले सिंहदरबार र नारायणहिटी, गेट बाहिरबाट हेर्थे, आज जनता त्यहाँभित्र पस्छन् । गणतन्त्र जनताको शासन हो, उनीहरूले चुनेका प्रतिनिधि त्यहीँबाट उनका लागि सेवा र शासन गर्छन् । हिजो रेडियोले समाचारका रूपमा हुकुम मात्र बजाउँथ्यो, आज, सामाजिक सञ्जालमा जनताका आवाज गुन्जिन्छन् । गणतन्त्र जनताको व्यवस्था हो । यसमा यदि कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हुनसक्छ । निर्णयमा हुने कमजोरीलाई निर्णयबाटै सच्याउने सुविधा पनि गणतन्त्रमा मात्रै हुन्छ । राजतन्त्रलाई प्रश्न भन्दा माथि राखिन्थ्यो, गणतन्त्रमा आलोचना बाहिर कोही रहन्नन् । आज तपाईँ सरकारको आलोचना गर्न सक्नुहुन्छ, गर्न पाउनु भएको छ । हामी सरकार बदल्न पाउँछौँ, निडर भएर लेख्न, बोल्न पाउँछौँ । अर्काको अधिकारमा दक्खल नदिई आफ्नो अधिकारको वकालत गर्न पाउँछौँ । किनभने हामी गणतन्त्रमा छौँ । यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो । हामीले गणतन्त्रलाई संस्थागत गर्दै लैजानु छ – नारामा होइन, व्यवहारमा । हिजोको निरंकुशतन्त्रबाट समाजलाई मुक्त गरेर पूर्वाधार विकासको जुन रफ्तार तय गरिएको छ, त्यो लोकतन्त्र, गणतन्त्रका कारण सम्भव भएको हो । हिजोको असमानता तोडेर सामाजिक सुरक्षाको जुन प्रबन्ध भएको छ, त्यो गणतन्त्रको देन हो । निरंकुश राजतन्त्रले उपभोग गरेका विलासी अढाई सय वर्ष भन्दा गणतन्त्र स्थापना भएको १७ वर्षमा कयौँ गुणा बढी विद्यालय, अस्पताल, सञ्चार र यातायात पूर्वाधारमा विकास भएको छ । वंशीय शासनका अभियान्ताहरुले गणतान्त्रिक व्यवस्थाको लाभ लिँदै सामाजिक सञ्जालमा प्रवाह गरेका प्रायोजित ‘स्पोन्सर्ड’ सामग्री भन्दा बाहिर गएर तथ्यहरूको अध्ययन गर्यौं भने हामी यस सम्बन्धी स्पष्ट चित्र देख्न सक्ने छौँ ।
गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित हुन्छ, भइरहेको छ । शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारी – यी क्षेत्रमा धेरै परिवर्तन आएको छ । यसमा अझै सुधार ल्याउन आवश्यक छ । त्यसका लागि सरकार सक्रिय छ । सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ– अर्थात् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ । गणतन्त्र कुनै दलको स्वामित्व होइन– यसको मालिक जनता हो । लोकतान्त्रिक गणतन्त्र–‘जनताको लागि, जनताद्वारा, जनताको’ शासन प्रणाली हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ । जनताको अधिकार र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्र गणतन्त्रले हाम्रो सुन्दर देश नेपाललाई विकास, समृद्धि र सुशासनको अत्युत्कर्षमा पुर्याउन सक्ने छ । आजको दिन हामी आफैँले आफैँलाई सम्झाउने दिन हो– गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्कहरु कहाँ थिए, आज कहाँ पुग्यो ? आज हामी आफैँले बितेका दिन फर्केर हेर्ने दिन पनि हो– गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो ? राजतन्त्र हुँदाका अढाई सय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे ? राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो ? गरिबी कति थियो, कति घट्यो ? खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो ? जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो ? यस्तै प्रश्नहरूका तथ्यपरक उत्तरहरूले हामीलाई गणतन्त्रका उपलब्धिहरू सम्झाउने छन् ।
नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो । तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार वि.सं. २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको छ । कार्यक्रमको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रश्तुत गरिएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको छ ।
तस्वीरमा गणतन्त्र दिवसः



