
काठमाडौं, २३ श्रावण । भारतको उत्तराखण्ड राज्यमा गत साता आएको विनाशकारी बाढी र पहिरोमा परी कम्तीमा १८ जना नेपाली नागरिक सम्पर्कविहीन भएका छन्। रोजीरोटीका लागि भारत पुगेका उनीहरूमध्ये जाजरकोटका १२, बर्दियाका ५ र जुम्लाका १ जना विपत्तिमा परेका हुन्। पहिरोमा परी बेपत्ता भएकामध्ये जाजरकोटका ५ जनाको मृत्यु भएको परिवारले जानकारी दिएको छ। नेपाल सरकारले उनीहरूको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल सुरु गरेको छ। मङ्गलवार उत्तरकाशी जिल्लाको धराली बजारमा आएको बाढी र बुधवार पौडीगढवालमा खसेको पहिरोले स्याउ टिप्न र सडक निर्माणमा संलग्न नेपाली मजदुरहरूलाई चपेटामा पारेको हो। उत्तरकाशी, धराली यहाँ जाजरकोटको कुशे गाउँपालिकाका १३ जनाभन्दा बढी नागरिक सम्पर्कविहीन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ। बेपत्तामध्ये कुशे–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह र रविन सिंहको मृत्यु भएको घटनास्थलमै रहेका मृतक मानबहादुरका छोरा नवीनले परिवारलाई जानकारी गराउनु भएको छ । पौडीगढवालमा सिन्धु खोला किनारमा टेन्ट हालेर बसेका बर्दियाका ५ जना नेपालीलाई पहिरोले बगाएको छ। बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती, २ वर्षीय छोरा रोमन, मधुवन–५ की अमृता परियार र मधुवनकै २१ वर्षीय सुवास विक रहनु भएको छ । पौडीगढवालमा मजदुरको समन्वय गरिरहेका चित्रबहादुर पौडेलका अनुसार, बुधबार बिहान खाजा खाएर काममा निस्कने तयारी गर्दा पहिरो खसेको थियो। पहिरोले टेन्टसहित मान्छे पनि बगाएर लग्यो, हामीले हेर्दाहेर्दै तल खोलामा पुर्यायो, त्यसपछि केही पत्ता लागेन, उहाँले भन्नुभयो। उक्त क्षेत्रमा कार्यरत ७३ जना बर्दियालीमध्ये ५ जनाबाहेक अरू सम्पर्कमा छन्। यस्तै, धरालीमा पहिरोबाट बचेका विजय सिंहले आफ्नो छोरासँगको अन्तिम फोन कल सम्झँदै भन्नुभएको छ, बुवा, हामी बाँच्छौं जस्तो लाग्दैछ, यहाँ ठूलो बाढी आएको छ। सरकारसँग उनीहरूले आफ्ना प्रियजनको खोजी गर्न घटनास्थलसम्म पुग्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै नेपालीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक पहल गरिएको बता। उनले फेसबुकमा लेख्नु भएको छ, छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको छ।यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको उल्लेख गर्नुभएको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय पक्षसँग खोजी तथा उद्धारका लागि समन्वय भइरहेको जनाएको छ। दूतावासका कन्सुलर प्रकाश मल्लका अनुसार, भारतीय अधिकारीहरूले पौडीगढवालमा ५ नेपाली बेपत्ता र केही घाइते भएको जानकारी दिनुभएको छ । घाइतेमध्ये मधुवनकी लक्ष्मी परियार र भूपेन्द्र खत्रीको हल्द्वानीस्थित अस्पतालमा उपचार भइरहेको छ। यद्यपि, धराली घटनामा उद्धार गरिएका २७४ जनाको पूर्ण पहिचान भइनसकेकाले बेपत्ता नेपालीको यकिन तथ्यांक आउन बाँकी छ। भारतीय अधिकारीहरूका अनुसार, प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ तर कठिन भूबनावट र प्रतिकुल मौसमका कारण चुनौती थपिएको छ। शुक्रबार पनि ९ जिल्लामा भारी वर्षाको चेतावनी दिइएको छ ।