सडक हो कि खेत ? ६ वर्षदेखि अलपत्र हुलाकी राजमार्गमा स्थानीयले धान रोपेर गरे विरोध

हाम्रो पेज

२२ श्रावण २०८२, बिहीबार १६:१५
कटहरी, मोरङ २२,श्रावण । वर्षौंदेखि निर्माण अलपत्र परेर हिलाम्मे बनेको राष्ट्रिय गौरवको आयोजना, हुलाकी राजमार्गलाई स्थानीयले खेत बनाएका छन्। सडक निर्माणमा भएको चरम ढिलासुस्ती र सरकारी उदासीनताप्रति आक्रोशित कटहरी गाउँपालिका–३ का बासिन्दाले बिहीबार सडकमा सवारी आवागमन रोकेर हिलाम्मे सडकमा धान रोप्दै सांकेतिक विरोध जनाएका हुन्। आक्रोशित स्थानीयले करिब एक घण्टा चक्काजाम समेत गरे। पानी पर्दा हिलोले हिँड्न नसकिने र घाम लाग्दा धुलोले बस्न नसकिने यो सडक उनीहरुका लागि विकास नभई अभिशाप बनेको छ। यो सडक हाम्रो लागि बर्खामा खेत बनेको छ, हिउँदमा धुलोको खानी, स्थानीय रामचरणले भन्नुभयो,नेता र ठेकेदारले हामीलाई दिएको सास्तीको योभन्दा ठूलो प्रमाण के हुन्छ ? राष्ट्रिय गौरवको आयोजना मानिने हुलाकी राजमार्गको ४४ किलोमिटर खण्ड मोरङमा पर्दछ। अधिकांश खण्डको काम लगभग पूरा भए पनि रंगेलीको हाटखोलादेखि कटहरीको राम चोकसम्मको ६ किलोमिटर खण्ड भने ६ वर्षदेखि अलपत्र छ।
काठमाडौंको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले २०७६ सालमा ७७ करोड रुपैयाँमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। तर, ६ वर्ष बितिसक्दा पनि भौतिक प्रगति जम्मा २२ प्रतिशत मात्रै छ। मुख्य ठेकेदार साइटमा नदेखिने र पेटी ठेकेदारहरू फेरिइरहने प्रवृत्तिले काम ठप्प प्रायः छ। यो सडकको दुर्दशाबारे स्थानीय जनप्रतिनिधि र सांसदहरूले तीन वर्षदेखि निरन्तर आवाज उठाउँदै आएका छन्। एक साताअघि मात्रै मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले तत्काल काम अघि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीकाका अनुसार साइड ड्रेन निर्माण र बिजुलीका पोल सार्ने जस्ता सामान्य काम समेत अझै सकिएको छैन। बर्खापछि काम सुरु गर्ने आश्वासन दिइए पनि स्थानीयवासी भने विश्वस्त छैनन्। त्यसैको विरोधस्वरुप उनीहरुले सडकमै धान रोपेका छन् ।