हाम्रो पेज
एजेन्सी, ३१ जेठ I इजरायल र इरानबीचको तनावले पूर्ण युद्धको रुप लिँदै गएको छ। लगातार दोस्रो दिन इजरायली लडाकु विमानहरूले इरानमाथि हवाई आक्रमण गरेका छन्। शुक्रबार राति इजरायली वायुसेनाले इरानको विभिन्न आणविक केन्द्रहरू र सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाउँदै गरेको आक्रमणमा हालसम्म ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ। ३५० भन्दा बढी मानिस घाइते भएका छन्।
इजरायलको यो आक्रमण बिहीबार बिहान ५ः३० बजे शुरू भएको पहिलो हवाई आक्रमणको निरन्तरता हो। त्यो आक्रमणमा इजरायलले इरानका छ जना वरिष्ठ आणविक वैज्ञानिकहरू र बीस जना सैन्य कमाण्डरहरूको हत्या गरेको थियो। इजरायली वायुसेनाले यो रणनीतिक हमलालाई रोकथामको नीति अन्तर्गत गरिएको दाबी गरेको छ।
यस कारबाहीको जवाफस्वरूप इरानले पनि इजरायलमाथि कडा प्रतिआक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले इजरायलतर्फ १५० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। तीमध्ये ६ वटा मिसाइल इजरायलको राजधानी तेल अभिभमा खसेका थिए, जसका कारण एकजना महिलाको मृत्यु भएको र ६३ जना घाइते भएको खबर आएको छ।
इरानी मिडियाहरूले इजरायलको रक्षा मन्त्रालयलाई समेत लक्षित गरिएको दाबी गरेका छन्। आक्रमणको जोखिमका कारण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सुरक्षित स्थानमा सारिएको समेत बताइएको छ। इजरायली सुरक्षा संयन्त्रले मिसाइलहरूलाई रोक्नका लागि आयरन डोम प्रणाली प्रयोग गरिरहेको छ।
क्षेत्रीय तनावले मध्यपूर्वमा व्यापक अस्थिरता निम्त्याउने खतरा बढेको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरे पनि हालसम्म कुनै शान्तिवार्ताको सम्भावना देखिएको छैन। अमेरिका, रुस, चीनजस्ता शक्तिराष्ट्रहरू पनि घटनाक्रमलाई गम्भीरतापूर्वक हेरिरहेका छन्। युद्धको यो क्रम जारी रहँदा वैश्विक सुरक्षा, तेलको मूल्य, र कूटनीतिक समीकरणमा ठूला असर पर्ने संकेत देखिन थालेका छन्।