कोशी प्रदेशमा उसुका नयाँ प्रतिभाको खोजी सुरु, ११२ खेलाडी उपाधिका लागि भिड्दै

हाम्रो पेज

२० असार २०८२, शुक्रबार १७:४२
खेलकुदले शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सक्छः मेयर कोइराला


विराटनगर, २० अषाढ। मोरङ उसु संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता भव्यताका साथ सुरु भएको छ। प्रदेशका सात जिल्लाबाट ११२ जना खेलाडीहरू उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन्, जसले यस प्रतियोगितालाई प्रदेशस्तरको एक महत्त्वपूर्ण खेलकुद जमघट बनाएको छ। प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदको शक्तिलाई जोड दिँदै यसले राष्ट्रको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने बताउनुभयो। खेलकुदका माध्यमबाट आणविक र आर्थिक रूपमा जस्तोसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिन्छ, मेयर कोइरालाले भन्नुभयो, खेलले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ र अनुशासित बनाउने मात्र होइन, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नाम, इज्जत र दाम कमाउने अवसर पनि दिन्छ। उहाँले खेलाडीहरूलाई दत्तचित्त भएर आफ्नो खेलमा लाग्न प्रेरित गर्दै विराटनगर महानगरपालिकाले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले महानगरले हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको पनि उहाँले स्मरण गराउनुभयो। संघका सचिव विनोद मारिकका अनुसार, प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, भोजपुर र संखुवासभा जिल्लाका ११२ जना खेलाडी सहभागी छन्। शनिबार सम्पन्न हुने प्रतियोगिताका विजेताहरूले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।