हाम्रो पेज

काठमाडौं, १७ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले मंगलबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो । प्राधिकरणले हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ परिमार्जन गरी नयाँ मूल्य कायम गरेको जनाएको छ । प्राधिकरणका अनुसार नयाँ भाडादर आजदेखि नै लागु हुनेछ । हवाई इन्धनको पुरानो मूल्य प्रतिलिटर २६९ रुपैयाँ रहेकोमा १४ दशमलव ८७ प्रतिशतले घटेर नयाँ मूल्य २२९ रुपैयाँ कायम भएपछि सोही अनुपातमा फ्यूल सरचार्ज घटाइएको हो । प्राधिकरणले सबै वायुसेवा कम्पनीहरूलाई पत्र लेखी यसको जानकारी गराइसकेको जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार ३० मिनेट उडान समय रहेको काठमाडौं–पोखरा मार्गको साविकको सरचार्ज चार हजार २७० बाट ६३५ ले घटेर अब नयाँ सरचार्ज तीन हजार ६३५ कायम भएको छ ।
त्यसैगरी, काठमाडौं–विराटनगर उडानको सरचार्ज ९६० ले घटाई नयाँ दर पाँच हजार ५०० तोकिएको छ । काठमाडौं–भैरहवामा ८२५ ले कमी भई नयाँ सरचार्ज चार हजार ७१५ कायम गरिएको छ । लामो दुरीको काठमाडौं–नेपालगन्ज उडानमा एक हजार ३०५ को घटेसँगै आएसँगै नयाँ सरचार्ज सात हजार ४६५ र सबैभन्दा लामो उडान रहेको काठमाडौं–धनगढी मार्गको सरचार्ज एक हजार७६५ ले घटेर नयाँ दर १० हजार १२० कायम भएको छ । छोटो दुरीका काठमाडौं–जनकपुर र काठमाडौं–सिमरा मार्गको सरचार्ज क्रमशः ५१५ र ३६० ले घटेर नयाँ दर दुई हजार ९४५ र दुई हजार ६० कायम गरिएको छ ।

दुर्गम तथा पर्यटकीय क्षेत्र तर्फ पनि सरचार्जमा ठूलो राहत मिलेको छ । काठमाडौं–लुक्ला मार्गको फ्यूल सरचार्ज ५४५ ले घटेर अब नयाँ दर तीन हजार १३० कायम भएको छ । रामेछापबाट लुक्ला उडान गर्ने यात्रुहरूका लागि साविकको दुई हजार ४० सरचार्जमा ३०० कटौती भई नयाँ मूल्य एक हजार ७४० तोकिएको छ । त्यस्तै, पोखरा–जोमसोम मार्गको सरचार्ज ३२० ले घटेर नयाँ दर एक हजार ८२५ कायम भएको छ । अन्तर–सहर उडानतर्फ पोखरा–नेपालगन्जको सरचार्ज ९५० ले घटेर नयाँ मूल्य पाँच हजार ४३० कायम भएको छ ।