हाम्रो पेज
विराटनगर, १८ अषाढः एएफसी महिला एसियन कप छनोट अन्तर्गत आज श्रीलंकाविरुद्धको आफ्नो दोस्रो तथा महत्त्वपूर्ण खेलमा नेपाली टोली जितको लयलाई निरन्तरता दिने लक्ष्यका साथ मैदानमा उत्रँदैछ। मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओसविरुद्धको खेलबाट एक खेलाडी परिवर्तन गर्दै सुरुवाती ११ सार्वजनिक गरेका छन्। लाओसविरुद्धको खेलमा बेन्चमा रहेकी युवा मिडफिल्डर प्रीति राईले सरु लिम्बुको स्थानमा सुरुवाती अवसर पाएकी छन्। अनुभवी गोलकिपर एन्जिला तुम्बापो सुब्बा र फरवार्ड रेखा पौडेल भने आज पनि पहिलो रोजाइमा परेका छैनन्।
श्रीलंकाविरुद्ध नेपालको सुरुवाती ११
गोलकिपरः अन्जना रानामगर
डिफेन्सः समीक्षा घिमिरे, गीता राना, निशा थोकर
मिडफिल्डरः रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर, अनिता बस्नेत, प्रीति राई
फरवार्डः सावित्रा भण्डारी (कप्तान), रश्मीकुमारी घिसिङ
खेल उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा लाओसमाथि ९ शुन्यको सानदार जित निकाल्दै छनोटमा उत्कृष्ट सुरुवात गरेको थियो। नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेलको उक्त अवसरमा कप्तानको रूपमा डेब्यु गरेकी सावित्रा भण्डारी ‘साम्बा’ ले एक्लै ४ गोल गरेकी थिइन्। यो जित प्रशिक्षक प्याट्रिक डि वाइल्डको सिनियर टोलीमा सुखद डेब्युसमेत थियो। आजको खेलमा पनि त्यही लय र नतिजा दोहोर्याउनेमा नेपाली टोली विश्वस्त छ। समूह ‘एफ’ को शीर्ष स्थानमा रहने टोलीले सन् २०२६ मा आयोजना हुने एएफसी महिला एसियन कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ। यो छनोटले अन्य प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको ढोकासमेत खोल्ने हुँदा आजको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ।
