नेपालले अष्ट्रेलियामा ’टप इन्ड टी–ट्वान्टी सिरिज’ खेल्ने

हाम्रो पेज

१३ असार २०८२, शुक्रबार २२:२५
विराटनगर, १३ अषाढ I नेपाली राष्ट्रिय क्रिकेट टिमले टी ट्वान्टी विश्वकप क्रिकेट छनोटको तयारी अष्ट्रेलियामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज सुचना जारी गर्दै अष्ट्रेलियाको नर्दन टेरिटोरी क्रिकेटले आयोजना गर्ने टी ट्वान्टी सिरिजमा नेपाल सहभागी हुने बताएको हो ।

अष्ट्रेलियामा हुने सिरिजलाई क्यानले नेपालको टी ट्वान्टी विश्वकप छनोटको तयारीको रुपमा लिएको छ । सो सिरिज अगष्ट १४ बाट २४ सम्म सञ्चालन हुनेछ । टप इन्ड टी ट्वान्टी सिरिज नामको प्रतियोगिता क्रिकेट अष्ट्रेलियाले स्वीकृति प्रदान गरेको नर्दन टेरिटोरीमा हुने टी ट्वान्टी ढाँचाको क्रिकेट कार्यक्रम हो । यो हरेक वर्ष अष्ट्रेलियन बिग बास लिग अघि हुने गर्दछ । यस सिरिजलाई सामान्यतया बिग बासको पूर्व तयारीको प्रतियोगिताको रुपमा हेर्ने गरिन्छ । नेपालले आईसीसी पुरुष टी२० विश्वकप एसिया छनोटको तयारीको रूपमा अगस्ट १४–२४ सम्म टप इण्ड टी–२० सिरिज खेल्न लागिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनु भएको छ । सिरिजले अष्ट्रेलियाली परिस्थितिमा प्रतिस्पर्धा गर्ने मौका प्रदान गर्ने लामाले बताउनुभयो । उक्त सिरिजमा नेपालले कम्तिमा ६ टी–२० खेल खेन्छ । २०२५ को टप इन्ड टी–२० शृङ्खलाको लागि पूर्ण तालिका र सहभागी टोलीहरूको घोषणा आगामी हप्ता गरिनेछ । त्यसपछि नेपालले सेप्टेम्बर २७ देखि ३० सम्म दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी२०आई सिरिज खेल्नेछ ।