search logo
NOTIFICATIONS

फिफा विश्वकप २०२६ः स्कटल्यान्ड र अष्ट्रेलिया विजयी, ब्राजिल–मोरक्को र कतार–स्विट्जरल्यान्ड बराबरीमा

हाम्रो पेज

३१ जेष्ठ २०८३, आईतवार १२:२१

विराटनगर, ३१ जेष्ठ । फिफा विश्वकप–२०२६ मा २८ वर्षपछि पुनरागमन गरेको स्कटल्यान्डले सुखद सुरुवात गर्दै हाइटीलाई १–० ले पराजित गरेको छ। अमेरिकाको बोस्टनमा आइतबार बिहान सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा जोन म्याकगिनले २९औँ मिनेटमा गरेको एकमात्र गोल नै स्कटल्यान्डको जितका लागि निर्णायक बन्यो। खेलभरि दुवै टोलीको बल पोसेसन लगभग बराबर रहे पनि हाइटीले अवसरलाई गोलमा परिणत गर्न सकेन। स्कटल्यान्डका स्कट म्याकटोमिनेले १७औँ मिनेटमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। यस जितसँगै स्कटल्यान्डले तीन अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। सोही समूहमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै एक–एक अंक बटुलेका छन् भने हाइटी अंकविहीन बनेको छ।स्कटल्यान्डले सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलेको हो। साथै, यो टोलीको विश्वकपमा ३६ वर्षयताको पहिलो जित पनि हो। यसअघि स्कटल्यान्डले सन् १९९० मा स्विडेनलाई २–१ ले पराजित गरेको थियो।

यता, न्यु जर्सीमा भएको रोमाञ्चक खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको छ। मोरक्कोका इस्माइल साइबारीले २१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ब्राहिम डियाजको उत्कृष्ट पासमा साइबारीले ब्राजिलका गोलरक्षक एलिसनलाई बिट गर्दै सुन्दर गोल गरेका थिए। तर ब्राजिलले ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्‍यो। ब्रुनो गुइमाराएसको सहयोगमा भिनिसियस जुनियरले शानदार गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले जितका लागि लगातार प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो। भिनिसियसको यो ब्राजिलका लागि ५० अन्तर्राष्ट्रिय खेलमा १०औँ गोल थियो।

अर्को खेलमा कतारले स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेल्दै प्रतियोगितामा पहिलो अंक जोडेको छ। सान फ्रान्सिस्कोमा सम्पन्न खेलमा स्विट्जरल्यान्डका ब्रिल एम्बोलोले १७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलभरि दबाबमा रहेको कतारले हार टार्दै दोस्रो हाफको इन्जुरी समयमा बोउलेम खुखीमार्फत बराबरी गोल फर्कायो र महत्वपूर्ण एक अंक सुरक्षित गर्‍यो।

त्यसैगरी, समूह ‘डी’ अन्तर्गत क्यानडामा सम्पन्न खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। अस्ट्रेलियाका नेस्तोरी इरानकुन्डाले २७औँ मिनेटमा पहिलो गोल गरे भने दोस्रो हाफमा कोनर मेटकाफले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे। यससँगै विश्वकप २०२६ को सुरुवाती चरण थप रोमाञ्चक बनेको छ। स्कटल्यान्ड र अस्ट्रेलियाले विजयी सुरुवात गर्दा ब्राजिल, मोरक्को, कतार र स्विट्जरल्यान्डले अंक बाँडेका छन्। अब फुटबल समर्थकहरूको ध्यान आज राति हुने जर्मनी र कुराकाओबीचको प्रतिस्पर्धातर्फ केन्द्रित भएको छ। आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने तालिका छ ।