हाम्रो पेज
काठमाडौं, ३० जेठ I लामो समयदेखि जारी संसदको गतिरोध अन्त्य गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच दुईबुँदे सहमति भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको सदन खुलाउन यो सहमतिले मार्गप्रशस्त गरेको छ। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले भने यो सहमतिप्रति असन्तुष्टि जनाउँदै आफ्नो अडान कायमै राखेको छ।
सहमति पत्रमा सत्तापक्षका तर्फबाट एमालेका मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्षका तर्फबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्।
भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई निष्कर्षमा पुऱ्याउन नेपाल सरकारले आवश्यक सहयोग गर्नेर अध्यागमन र भिजिट भिसामा देखिएका समस्याहरूको स्थायी समाधानका लागि आवश्यक अध्ययन तथा छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधार गर्न सरकारले ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्ने सहमित भएको छ । सहमतिपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सदन खुल्ने र रास्वपा आफ्नो ढंगले अघि बढ्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, “अब हाउस खुल्छ। रास्वपासँग हाम्रा मूलभूत विषयमा खासै समस्या छैन, तर उहाँहरूका केही अडानका कारण अब आफ्नो ढंगले जानुहुन्छ। हामीबीच विमती र आरोप प्रत्यारोप भने हुँदैन।”
सत्ता र प्रमुख प्रतिपक्षीबीच सहमति भए पनि रास्वपाले भने चित्त बुझाएको छैन। उसले गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समितिको मागबाट पछि नहट्ने अडान लिएको छ।