हाम्रो पेज
एजेन्सी, १३ अषाढ I सबै अड्कलबाजीलाई अन्त्य गर्दै विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अलनासरसँग दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्, जसले उनको मध्यपूर्व यात्रालाई थप लम्ब्याएको छ।
नयाँ अध्याय सुरु भयो। उही जोश, उही सपना। आउनुहोस्, फेरि इतिहास रचौं, रोनाल्डोले सामाजिक सञ्जालमा लेख्दै आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् । यो सम्झौता सामान्य छैन, यसको मूल्य बोनस र क्लबको १५ प्रतिशत स्वामित्वसहित ४९२ मिलियन पाउन्ड करिब ९२ अर्ब रूपैयाँ सम्म पुग्ने अनुमान गरिएको छ, जसले उनलाई विश्वकै सर्वाधिक कमाउने खेलाडीको रूपमा स्थापित गरेको छ।
रोनाल्डोको आगमनले साउदी फुटबलमा क्रान्ति नै ल्यायो, जसकारण करिम बेन्जेमा र नेयमार जस्ता स्टारहरू पनि आकर्षित भए। मैदानमा पनि उनको प्रदर्शन दमदार छ। उनले अल नासरका लागि १११ खेलमा ९९ गोल गरिसकेका छन्। अब उनको नजर दुई ठूला लक्ष्यमा छ पहिलो, आफ्नो करियरको १००० गोलको ऐतिहासिक कीर्तिमान, जसबाट उनी मात्र ६८ गोल टाढा छन् । दोस्रो, अल नासरलाई साउदी प्रो लिगको उपाधि जिताउने अधुरो सपना।
व्यक्तिगत रूपमा सफल भएपनि उनले क्लबलाई लिग जिताउन सकेका छैनन्। पाँच पटकका बलन डि ओर विजेता रोनाल्डो अब नयाँ कीर्तिमान र अधुरा सपना पूरा गर्ने लक्ष्यसहित आगामी दुई वर्ष मैदानमा उत्रनेछन्, जसलाई हेर्न पूरा विश्व उत्सुक छ।
