देशभर वर्षा, बाढीपहिरो र डुबानको उच्च जोखिम, सतर्क रहन अपिल

हाम्रो पेज

१७ असार २०८२, मंगलवार ११:३३

विराटनगर, १७ अषाढ । मनसुन सक्रिय भएसँगै आज देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ, जसले गर्दा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी मुसलधारे वर्षाको पनि सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात हुन सक्छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। भारी वर्षासँगै नदीको जलसतह बढ्ने, गेग्रान बग्ने, बाढी, पहिरो र भूक्षयजस्ता प्रकोपको जोखिम बढेको छ। हिजोको वर्षाले कैलालीको धनगढी तथा कञ्चनपुरका विभिन्न बस्ती डुबानमा परेकाले पनि जोखिम कति छ भन्ने प्रस्ट हुन्छ। बाढी पूर्वानुमान महाशाखाले विशेषगरी साना नदीहरूमा आकस्मिक बाढीको खतरा औंल्याउँदै नदीतटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली र कञ्चनपुर यी जिल्ला भएर बग्ने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ। यस्तै संखुवासभा, रसुवा, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व र पश्चिम, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा र बैतडीमाआकस्मिक बाढीको ‘मध्यम’ जोखिम रहेको छ भने ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र जाजरकोटमा आकस्मिक बाढीको ‘सामान्य’ जोखिम रहेको भनिएको छ । कोसी, नारायणी, कर्णाली, महाकाली जस्ता ठूला नदीहरूको जलसतह हाल सतर्कता तहभन्दा तलै रहने अनुमान छ। तर, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो क्रममा रहनेछ। विशेषगरी साना नदीनाला र खहरे खोलाहरूमा आकस्मिक बाढीको खतरा रहेकाले आवश्यक सावधानी अपनाउनु जरुरी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।