हिज्जे प्रतियोगितामा २५ विद्यालयलाई पछि पार्दै हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

हाम्रो पेज

५ आश्विन २०८३, सोमबार ११:०९

विराटनगर, ५ आश्विन । प्याब्सन विराटनगरको आयोजनामा सम्पन्न जुनियर लेभल कक्षा १ देखि ३ सम्मको स्पेलिङ हिज्जे प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम भएको छ। प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुल द्वितीय, डिएभी स्कुल तृतीय र गौतमबुद्ध सेकेन्डरी स्कुल सान्त्वना भएको छ। प्रतियोगितामा बेस्ट स्पेलर अवार्ड एभरेष्ट सेकेन्डरी स्कुलले प्राप्त गर्याे ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य शितला सुब्बाले विद्यार्थीको सिकाइलाई प्रतिस्पर्धात्मक तथा रमाइलो बनाउँदै भाषा र शब्दज्ञानको विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थीको प्रतिभा पहिचानसँगै आत्मविश्वास अभिवृद्धि गर्न विद्यालयस्तरमा सिर्जनात्मक प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष तथा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीको ज्ञान, क्षमता र प्रतिभा प्रस्फुटनका लागि प्याब्सन विराटनगरले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । प्रतिस्पर्धालाई केवल जित हारका रूपमा नलिई विद्यार्थीको सिकाइ, आत्मविश्वास र व्यक्तित्व विकाससँग जोडेर हेर्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । प्रतियोगितामा २६ वटा विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले विद्यार्थीमा शब्दज्ञान, सही हिज्जे लेख्ने क्षमता, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।