जेनजी आन्दोलनमा कोशीमा ५७ प्रहरी कार्यालय ८४ सवारीमा आगजनी, मोरङमा १२५ जना पहिचान

हाम्रो पेज

८ आश्विन २०८२, बुधबार १८:३०

विराटनगर,८ आश्विन । कोशी प्रदेशमा जेनजी आन्दोलनको आडमा भएको विध्वंसले ठूलो क्षति पुर्याएको छ। यस आन्दोलनको मौका छोपेर अराजक समूहले मच्चाएको उत्पातका कारण ५७ वटा प्रहरी कार्यालय भवनमा आगजनी र तोडफोड गरिएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार, तीमध्ये २४ वटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३३ वटा भवनमा आंशिक क्षति पुगेको छ। यसका साथै, आन्दोलनकारीले ८४ वटा प्रहरीका सवारी साधनमा पनि पूर्ण क्षति पुर्याएका छन्, जसमा ८ वटा हेभी सवारी साधन पनि समावेश छन्। प्रहरी कार्यालय भवनहरू क्षतिग्रस्त भए पनि कोशी प्रदेश प्रहरीले आफ्नो नियमित काममा फर्किएको डीआईजी कार्कीले जानकारी दिनुभएको छ। क्षतिग्रस्त कार्यालयहरूको पुनर्स्थापनाको पहल भइरहेको छ, तर हालसम्म सुनसरीको पकलीस्थित प्रहरी चौकी मात्र पुनर्स्थापित भएको छ। अन्य चौकीहरूको पुनर्स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ। डीआईजी कार्कीले प्रहरीले यस्ता आन्दोलनहरू धेरै देखेको र यसअघिका आन्दोलनपछि जसरी प्रहरीले काम गरेको छ, त्यसरी नै यसपटक पनि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भौतिक पूर्वाधारहरू नष्ट हुँदा काममा केही प्रभाव परे पनि प्रहरी सुरक्षा दिन सक्षम रहेको उहाँको भनाइ छ।


समुदायसँग मिलेर काम गरिरहेको बताउँदै डीआईजी कार्कीले प्रहरीलाई पुनर्स्थापित गर्न स्थानीयले सहयोग गरिरहेको जानकारी दिनुभयो। आन्दोलनका क्रममा प्रहरीका केही हतियारसमेत लुटिएका र केही जलेका थिए। लुटिएकामध्ये धेरैजसो हतियार फिर्ता प्राप्त भइसकेको उहाँले बताउनुभयो।

यसैबीच, जेनजी आन्दोलनको आडमा मोरङमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको प्रहरीले पहिचान गर्न थालेको छ। विराटनगरका सरकारी र निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी गर्ने १२५ जनाको पहिचान भइसकेको मोरङ प्रहरीले जनाएको छ। पहिचान भएका व्यक्तिहरूका विरुद्ध प्रमाण सङ्कलन गरी कारबाही गर्ने तयारीमा प्रहरी जुटेको छ। आन्दोलनका क्रममा खिचिएका फोटो र सार्वजनिक भएका भिडियोका आधारमा प्रहरीले पहिचानको काम गरिरहेको छ। यस्तै व्यक्ति र संस्थाहरूले दिएको उजुरीका आधारमा पनि दोषीहरूको पहिचान भइरहेको मोरङ प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा मोरङमा १५५ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ। यसैगरी, १५ वटा निजी घरमा पनि तोडफोड र आगजनी भएको छ। मोरङका प्रहरी उपरीक्षक ९एसपी० कवित कटवालले आगजनी, तोडफोड र लुटपाटका घटनाहरूलाई गम्भीर रूपमा लिएर दोषीहरूलाई कानुनी दायरामा ल्याउन अनुसन्धानलाई तीव्र पारिएको बताउनुभएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको कार्यभार सम्हाल्दै एसपी कटवालले घटनामा संलग्नहरूको फोटो र भिडियो प्रहरीलाई उपलब्ध भइरहेको बताउनुभयो। उहाँले यस्ता भिडियोहरू उपलब्ध गराउन समेत आम जनतालाई अनुरोध गर्नुभएको छ। सरकारी तथा निजी सम्पत्तिमाथि विध्वंस मच्चाउने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने तयारीमा प्रहरी रहेको एसपी कटवालले स्पष्ट पार्नुभएको छ।

कोशी प्रदेश सरकारका ४२ वटा भवनमा क्षति, १० जनाको मृत्यु 

जेनजी समूहको आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गर्दा कोशी प्रदेश सरकारका ४२ वटा भवनमा क्षति पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार प्रदेश मन्त्रालयका १८ वटा भवनमा पूर्णरुपमा क्षति भएको छ । २४ वटा भवनमा आंशिक क्षति भएको छ । प्रदेश सरकारका ६४ वटा चार पाङ्ग्रे  गाडी जलेका छन् ।  १२ वटा चार पाङ्ग्रे सवारीमा आंशिक क्षति भएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले प्रयोग गर्ने १४४ वटा मोटरसाइकल र स्कुटर पूर्णरुपमा क्षति भएको छ । १७ वटामा आंशिक क्षति पुगेको छ । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाको मृत्यु भएको छ । पाँच जनाको आन्दोलनको क्रममा मृत्यु भएको हो, पाँच जनाको कंकाल भाटभटेनीमा भेटिएको हो ।