search logo
NOTIFICATIONS

रामकुमारी झाँक्रीको बोलीले नेकपा एसमा हलचल, पार्टी अध्यक्ष बारे नबोल्न पार्टीको मुखबन्दी सर्कुलर

हाम्रो पेज

१५ असार २०८२, आईतवार २२:०४
विराटनगर, १५ अषाढ । नेतृ रामकुमारी झाँक्रीको एक अभिव्यक्तिले नेकपा एकीकृत समाजवादी भित्र ठूलो हलचल मच्चिएको छ।

अध्यक्ष माधवकुमार नेपालमाथि लक्षित उहाँको मरेको सिनो टिप्पणी र पार्टी पुनर्गठनका लागि अर्ली महाधिवेशनको मागपछि, पार्टी केन्द्रीय कार्यालयले सार्वजनिक रूपमा नेतृत्वको आलोचना नगर्न कडा निर्देशन सर्कुलर जारी गरेको छ। पार्टीभित्रको विवाद सतहमा आएपछि महासचिव घनश्याम भुसालले एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दाबारे पार्टीको आधिकारिक धारणाभन्दा बाहिर गएर नबोल्न र नलेख्न सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभएको छ। पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनैपनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न, आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वादप्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ, निर्देशनमा भनिएको छ।
के भन्नु भएको थियो झाँक्रीले ?
नेतृ झाँक्रीले शनिबार तिलोत्तमामा आयोजित युवा संघ नेपालको कार्यक्रममा पार्टी अध्यक्ष नेपाललाई लक्षित गर्दै उक्त कडा अभिव्यक्ति दिनुभएको थियो। पतञ्जलि जग्गा प्रकरणमा अध्यक्षमाथि मुद्दा चल्दा पनि पद नछाडेको अवस्थाप्रति असन्तुष्टि जनाउँदै उहाँले पार्टीलाई पुनर्गठन गर्न अर्ली महाधिवेशन एक मात्र विकल्प भएको बताउनुभयो। अध्यक्षमाथि संकट आयो, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन, झाँक्रीले भन्नुभएको थियो, अब सुध्रिने हो भने नयाँ ढंगले जान अर्ली महाधिवेशन गरौँ र हलबाट नयाँ नेतृत्व छानौँ। टीका लगाएर बनाएको केन्द्रीय समितिबाट यही पार्टी बनाउने हो भने तपाईंहरूले यो पार्टी बनाउनुहुन्न। झाँक्रीको यो प्रस्ताव र अभिव्यक्तिले पार्टी पदाधिकारी बैठकले अध्यक्ष नेपाललाई तत्काल पद नछाड्न दिएको ढाडसलाई सिधै चुनौती दिएको छ। पार्टीले सर्कुलर जारी गरेर विवादलाई थामथुम पार्न खोजे पनि यस घटनाले नेकपा एस भित्र नेतृत्व र कार्यशैलीलाई लिएर गम्भीर असन्तुष्टि र ध्रुवीकरण रहेको स्पष्ट संकेत गरेको छ।