हाम्रो पेज
विराटनगर, ५ अषाढ । शान्ति, न्याय र लोकतन्त्रको लागि समावेशी महिला सञ्जाल (संकल्प) कोशी प्रदेशको अध्यक्षमा नागरिक आवाजकी शोभा दाहाल निर्वाचित हुनुभएको छ । विराटनगरमा आज सम्पन्न प्रदेशस्तरीय समितिको अभिमुखीकरण तथा पुर्नगठन कार्यक्रममा दाहालको अध्यक्षमा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
यस्तै उपाध्यक्षमा क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) की कोशी प्रदेश अध्यक्ष गंगा बराल, सचिवमा फातिमाकी नजबुल खान र कोषाध्यक्षमा मीना राई चयन हुनु भएको छ । समितिको सदस्यमा विविशा राई, राखी कर्ण, सुसिला विक, शान्ता तामाङ र सविता बुढाथोकी चयन भएका छन् ।
१४ जिल्ला रहेको कोशी प्रदेशमा समितिमा नअटेका जिल्लामा फोकल पर्सन राख्ने संकल्पकी केन्द्रीय अध्यक्ष संगिता लामाले जानकारी दिनुभयो ।
महिलाका साझा मुद्धामा एकतावद्ध हुनुपर्नेमा जोड
संकल्पकी संस्थापक अध्यक्ष तथा राष्ट्रिय महिला आयोजकी सदस्य लिलि थापाले संकल्पले महिलाका साझा मुद्धामा काम गर्ने भएकाले प्रदेशको नयाँ समितिलाई साझा मुद्धामा एकतावद्ध भएर काम गर्न निर्देशन दिनुभएको छ।
उहाँले महिलालाई तीनै तहको सरकारको नेतृत्वदायी भूमिकामा पुर्याउनको लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो । “प्रमुख या उपप्रमुख दुई मध्ये एकमा अनिवार्य महिला हुनुपर्ने भनिएपनि फरक पार्टीको भए हुन नपर्ने भन्ने व्यवस्थाले महिलाको सहभागिता घटेको छ”, उहाँले भन्नुभयो, “नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाउन चुनाव खर्चको अनुगमन गर्नुपर्छ, विधुतिय भोटिङ र महिला महिलाबीच प्रतिस्पर्धा गर्नुपर्छ । यसतर्फ सबैले ध्यान दिनुपर्छ ।”
संकल्पकी अध्यक्ष संगिता लामाले मुस्लिम, जनजाति, दलित, महिला लगायत महिलाले नेतृत्व गरेका विभिन्न संस्थाहरुको प्रतिनिधित्व भएका कारण एक अर्काको मुद्धालाई सम्मान गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य सोभा चेम्जोङ र लखिकुमारी गणेशले महिलाहरुले चाहेर पनि सोचेअनुसारको काम गर्न नसकेको बताउनुभयो । उहाँहरुले महिलालाई काम गर्ने अवसर नै नदिने गरेको गुनासो समेत गर्नुभयो ।