
विराटनगर, १३ अषाढ I मोरङ प्रहरीले विराटनगरबाट करिब दुई हप्ताअघि चोरिएको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, चोरी भएको मोटरसाइकल चलाइरहेको अवस्थामा कटहरी गाउँपालिकाबाट ३७ वर्षीय किसन चौधरीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, गत जेठ २८ गते दिउँसो विराटनगर महानगरपालिका–२ स्थित हिमालयन बैंक अगाडि सडक किनारमा पार्क गरी राखिएको को ३९ प ४१५० नम्बरको होण्डा साइन मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल धनीले दिएको हुलिया निवेदनका आधारमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो। खोजी गर्ने क्रममा प्रहरीले असार १२ गते राति ९ बजेतिर कटहरी गाउँपालिका–१ मा उक्त मोटरसाइकल फेला पारेको हो। मोटरसाइकल चलाइरहेका बेलबारी नगरपालिका–६ का ३७ वर्षीय किसन चौधरीलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो। पक्राउ परेका चौधरीविरुद्ध चोरी मुद्दामा जाहेरी दर्ता गरी मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिनुभयो।
