search logo
NOTIFICATIONS

लन्डन जाँदै गरेको २४२ जना सवार एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त

हाम्रो पेज

२९ जेष्ठ २०८२, बिहीबार १५:५२
एजेन्सी, २९ जेठ I एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी सहित २४२ यात्रु सवार थिए ।
विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । गृहमन्त्री अमित शाहले विमान दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गर्नभएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयमै एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनाग्रस्त भएको हो । नागरिक उड्डयन महानिर्देशनालयका अनुसार, विमानमा दुईसय ३० यात्रु, दुई पाइलट र १० जना क्याबिन क्रू सदस्य गरी कुल दुईसय ४२ जना सवार थिए । विमान क्याप्टेन सुमित सभरवाल र फस्ट अफिसर क्लाइभ कुन्दरको नेतृत्वमा थियो ।

लामो दूरीको यात्राका लागि विमानमा धेरै इन्धन भरिएको थियो, जसले दुर्घटनापछिको विस्फोट र आगलागीको तीव्रतालाई अझ बढाएको थियो । घटनास्थलमा उद्धार कार्यकालागि धेरै दमकल र एम्बुलेन्सहरू पठाइएको छ । भारतीय अधिकारीहरूले दुर्घटनाको सम्भावित कारणबारे कुनै विज्ञप्ति जारी गरेका छैनन् । विज्ञहरूले अन्तर्राष्ट्रिय उडानका लागि भरिएको ठूलो परिमाणको इन्धनले दुर्घटनापछिको आगलागीलाई थप भयानक बनाएको र उद्धार कार्यमा जटिलता थपेको हुन सक्ने बताएका छन्।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अधिकारीहरूलाई उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा पटेलले घाइते यात्रुहरूको तत्काल उपचारको व्यवस्था गर्न र उनीहरूलाई तुरुन्तै अस्पताल पुऱ्याउन ‘ग्रिन कोरिडोर’ स्थापना गर्न प्रशासनलाई निर्देशन दिएको बताउनुभएको छ । एयर इन्डियाले आफ्नो पहिलो आधिकारिक विज्ञप्तिमा भनेको छ, “अहमदाबाद लन्डन ग्याटविक उडान भर्दै गरेको फ्लाइट आज १२ जुन २०२५ मा एक दुर्घटनामा परेको छ । यस समयमा, हामी विवरणहरू संकलन गरिरहेका छौं।” दमकल, एम्बुलेन्स र शहर प्रहरीसहित आपत्कालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। राष्ट्रिय विपद् प्रतिक्रिया बलले गान्धीनगरबाट ९० जनाको तीनवटा टोली तुरुन्तै खटाइएको र वडोदराबाट थप तीन टोली घटनास्थलतर्फ पठाइएको पुष्टि गरेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । विमान दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।