search logo
NOTIFICATIONS

प्रचण्ड गर्मीको कहरः तराईदेखि भित्री मधेससम्मका विद्यालय बन्द

हाम्रो पेज

२७ जेष्ठ २०८२, मंगलवार २०:१५
फाईल तस्वीर
विराटनगर, २७ जेठ I देशभर, विशेषगरी तराई–मधेसका जिल्लाहरूमा तापक्रमको पारो अकासिएसँगै प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। यो कहरको सबैभन्दा ठूलो मारमा विद्यालयका साना बालबालिकाहरू परेका छन्, जसलाई ध्यानमा राख्दै विभिन्न स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

असह्य गर्मीका कारण कक्षाकोठामा बसेर पठनपाठन गर्न असम्भवप्रायः भएपछि विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरलाई मध्यनजर गर्दै यो निर्णय लिनुपरेको स्थानीय तहहरूले जनाएका छन्। विभिन्न नगर तथा महानगरपालिकाहरूले गर्मीको अवस्था हेरेर फरक–फरक अवधिका लागि बिदा दिएका छन्।

विराटनगर महानगरपालिकामा तीन दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। मेयर नागेश कोइरालाका प्रेस सल्लाहकार मिनकुमार नवोदितले गर्मीका कारण पठनपाठनमा कठिनाइ भएपछि यस्तो निर्णय लिइएको जानकारी दिनुभयो । इटहरी उपमहानगरपालिकामा बुधबारका लागि बिदा दिइएको छ। यस्तै इनरुवा नगरपालिकामा तीन दिनका लागि विद्यालय बन्द गरिएको छ।

भरतपुर महानगरपालिका (चितवन) मा जेठ २८ देखि ३० गतेसम्म (तीन दिन) विद्यालय बन्द हुनेछन् भने खैरहनी नगरपालिका (चितवन) मा बुधबारका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यस्तै बेलौरी नगरपालिका (कञ्चनपुर)मा दुई दिनका लागि विद्यालय बन्दको घोषणा गरिएको छ। यो निर्णयले तत्कालका लागि विद्यार्थीहरूलाई गर्मीको रापबाट राहत दिए पनि बढ्दो तापक्रम र मौसम परिवर्तनको दीर्घकालीन चुनौतीलाई भने स्पष्ट रूपमा उजागर गरेको छ। आगामी दिनमा यस्ता समस्याहरूको सामना गर्न विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्ने र वैकल्पिक शिक्षण विधिबारे सोच्नुपर्ने आवश्यकता पनि देखिएको छ।