search logo
NOTIFICATIONS

ढिलै भए पनि आयो काठमाडौं महानगरको बजेटः पूर्वाधारलाई प्राथमिकता, आन्तरिक द्वन्द्वमा क्षमायाचना

हाम्रो पेज

२९ असार २०८२, आईतवार १७:३१

काठमाडौं २९, अषाढ । लामो समयको आन्तरिक कलह र अनिश्चिततालाई चिर्दै काठमाडौं महानगरपालिकाले अन्ततः आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि आफ्नो वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ। संवैधानिक समयसीमाभन्दा ढिला गरी आइतबार बसेको नगर सभाको १७ औं अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गर्नुभयो। ढिलाइप्रति क्षमायाचना गर्दै र विगतका मनमुटाव भुलेर एकढिक्का भएको सन्देश दिँदै उपप्रमुख डंगोलले बजेट प्रस्तुत गर्नुभएको हो। चालु आर्थिक वर्षमा निराशाजनक देखिएको पुँजीगत खर्चको पृष्ठभूमिमा ल्याइएको यो बजेटले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। उपप्रमुख डंगोलका अनुसार, आगामी आर्थिक वर्षका लागि कुल बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने अनुमान गरिएको छ। यो बजेट चालु आर्थिक वर्षको २४ अर्ब ९० करोडभन्दा केही ठूलो हो।


आन्तरिक स्रोतः२० अर्ब १२ करोड ६४ लाख रुपैयाँ आन्तरिक आय र बैंक मौज्दात
सरकारी अनुदानः ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँ संघीय तथा प्रदेश सरकारबाट
आगामी वर्षको बजेटले पूर्वाधार विकासलाई सिंहभाग छुट्याएको छ। जसमा पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ , सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत ३ अर्ब १ करोड ३७ लाख २१ हजार रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ३ प्रतिशत ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ।
मेयर बालेन्द्र शाह बालेन द्वारा प्रस्तुत नीति तथा कार्यक्रमले मौलिक, ऐतिहासिक, सांस्कृतिक र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्य राखेको छ। यसमा पुराना सफल कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमहरू पनि समावेश गरिएका छन् । जसमा मुख्य प्राथमिकता फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा सुधार, सहरी स्वास्थ्य प्रवर्द्धन, सम्पदा संरक्षण मठ, मन्दिर, बहाल, पोखरी, हिटी र ध्वनि प्रदूषण नियन्त्रण रहेका छन् । ‘एक वडा, एक उत्पादन’ र उद्यमशीलता प्रवर्द्धनका लागि ‘इन्कुबेसन सेन्टर’ तथा ‘बीउ पुँजी’ कार्यक्रमलाई निरन्तरता दिइएकोछ । सामुदायिक विद्यालयमा ‘स्पोर्ट्स एकेडेमी’, ‘डिजिटल शिक्षा उद्यमशीलता क्लब’, र अपांगता भएका विद्यार्थीका लागि विशेष शिक्षण केन्द्र स्थापना गरिनेछ ।चालु आर्थिक वर्षमा महानगरको प्रदर्शन भने उत्साहजनक रहेन। कुल बजेटको जम्मा ५२ दशमलव१३ प्रतिशत मात्र खर्च भएको छ, जसमा पुँजीगत खर्च निराशाजनक रूपमा ४४ दशमलव ७२ प्रतिशत मात्रै छ। मेयर बालेन शाहले बजेटको पूर्ण कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता र क्रियाशीलता आवश्यक रहेको बताउँदै विगतका कमजोरीबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभएको छ। उपप्रमुख डंगोलले बजेट भाषणका क्रममा ढिलाइप्रति क्षमा माग्दै भन्नुभयो, “हामीबीच केही अविश्वास र तितो मिठो अनुभव भए, तर आज हामी फेरि एकढिक्का भएका छौं। समयमै बजेट पेस गर्न नसकेकोमा महानगरवासीसमक्ष क्षमा याचना गर्दछौं।”