
काठमाडौँ ३१ अषाढ । घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यस प्रकरणलाई गम्भीरतापूर्वक लिँदै निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न निर्देशन दिएपछि मन्त्री गुप्ताले राजीनामा बुझाउनुभएको हो। प्रधानमन्त्री ओलीले यस विषयमा चासो राख्दै मन्त्री गुप्तालाई बालुवाटार बोलाएर सोधपुछ गर्नुभएको थियो। त्यसलगत्तै उहाँलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। निर्देशनबमोजिम मन्त्री गुप्ता राजीनामा पत्र लिएर बालुवाटार पुग्नुभएको थियो। तर, प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा व्यस्त रहनुभएकाले उहाँले राजीनामा पत्र बालुवाटारमै छाडेर फर्कनुभएको हो। लगत्तै उहाँले सामाजिक संजालबाट राजीनामा दिएको जानकारी दिनु भएकोछ । मन्त्री गुप्तामाथि कास्की जिल्लामा नियुक्ति र सरुवाका लागि लाखौं रुपैयाँ घुस लेनदेनको डिल गरेको आरोप लागेको छ। सार्वजनिक भएको अडिओमा नेकपा एमाले गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गर्न २५ लाख र मालपोत कार्यालय, कास्कीका एक प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँको डिल भएको सुनिन्छ। यो प्रकरण सार्वजनिक भएपछि मन्त्री गुप्तामाथि छानबिन र पदबाट बर्खास्तगीका लागि चौतर्फी दबाब बढेको थियो।

राजीनामापछि मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू निर्दोष रहेको र ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको दाबी गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको छु।” यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन प्रक्रिया अघि बढाइसकेको छ। उक्त अडिओको सत्यता परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ। साथै, प्रकरणको निष्पक्ष र गहिरो अनुसन्धानका लागि अख्तियार लगायत राज्यका अन्य नियामक निकायलाई समेत औपचारिक रूपमा पत्राचार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।