हाम्रो पेज

विराटनगर , १० असार । नेपाल आयल निगमअन्तर्गत कोशी प्रादेशिक कार्यालय, विराटनगर नजिकैको पार्किङस्थलबाट हराएको पेट्रोल बोकेको ट्याङ्कर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ। घटनाको अनुसन्धानका क्रममा ट्याङ्करबाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएपछि निगमले ढुवानीकर्तामाथि कारबाही गर्दै चोरी भएको परिमाणको दोब्बर रकम असुल गरेको छ। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्याङ्करले असार ६ गते भारतस्थित सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेको थियो। उक्त ट्याङ्कर असार ७ गते बिहान ८ बजे निगमको डिपोबाट करिब ३०० मिटर दूरीमा रहेको कदमगाछीस्थित पार्किङस्थलमा राखिएको थियो। तर, असार ८ गते बिहान ९ बजे ढुवानीकर्ताले ट्याङ्कर हराएको जानकारी निगमलाई गराएका थिए। जानकारी प्राप्त हुनासाथ निगमले प्रहरीलाई खबर गरी खोजी कार्य सुरु गरेको थियो। सिसिटिभी फुटेजको अध्ययन गर्दा ट्याङ्कर बिहान ३ बजेर ३ मिनेटमा पार्किङस्थलबाट बाहिरिएर नोबेल अस्पतालतर्फ गएको देखिएको थियो।

खोजीका क्रममा निगमबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्ग क्षेत्रमा ट्याङ्कर बेवारिसे अवस्थामा फेला परेको थियो। भेटिँदा ट्याङ्करको ताला काटिएको अवस्थामा रहेको निगमले जनाएको छ।त्यसपछि प्रहरी, निगमका कर्मचारी तथा ढुवानीकर्ताको रोहवरमा मुचुल्का तयार गरी ट्याङ्करलाई निगमको पार्किङस्थलमा ल्याएर सिल गरिएको थियो।
बुधबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम तथा ढुवानीकर्ताका प्रतिनिधिको उपस्थितिमा सिल खोली नापजाँच गर्दा ट्याङ्करबाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको हो। ट्याङ्करमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ।कार्यालय प्रमुख पुष्कर कार्कीका अनुसार ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ मा भएको व्यवस्थाअनुसार चोरी भएको पेट्रोलको परिमाण बराबरको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।