search logo
NOTIFICATIONS

सरुवा भएर हाजिर हुन हिँडेका वरिष्ठ सईको सवारी दुर्घटनामा मृत्यु, पत्नी घाइते

हाम्रो पेज

१० असार २०८३, बुधबार ११:३५
डाक्टरले चलाएको गाडीको ठक्करबाट वरिष्ठ सईको मृत्यु


विराटनगर, १० असार । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक वरिष्ठ सई लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने पत्नी रामपरी यादव घाइते हुनु भएकोछ । मंगलबार दिउँसो करिब १२ बजे बर्जू गाउँपालिका ६ स्थित नरह चोकमा भएको दुर्घटनामा प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा दिउँसो ४ः१६ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पत्नी रामपरी यादव घाइते हुनु भएको छ । उहाँको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक यादव सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी हुनुहुन्थ्यो । उहाँ हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा हुनु भएको थियो । सिरहामा हाजिर हुन जाने क्रममा यादव दुर्घटनामा पर्नुभएको हो । दुर्घटनामा संलग्न कार मोरङको कटहरी गाउँपालिका–३ निवासी रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीले चलाउनु भएको थियो । उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । डा. चौधरी नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुनुहुन्छ । प्रहरीका अनुसार घटनाको कारणबारे थप अनुसन्धान जारी छ । दुर्घटनापछि मोटरसाइकलमा आगलागीसमेत भएको थियो ।