search logo
NOTIFICATIONS

देशभर भारी वर्षा, २९ जिल्लामा बाढीको जोखिम, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हाम्रो पेज

२९ जेष्ठ २०८२, बिहीबार ११:१८
विराटनगर, २९ जेठ I देशभर मनसुन सक्रिय भएसँगै अधिकांश स्थानमा भारी वर्षा सुरु भएको छ, जसका कारण जनजीवन प्रभावित बनेको छ। पूर्व-पश्चिम राजमार्गको महत्त्वपूर्ण खण्ड बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ भने बाढी पूर्वानुमान महाशाखाले काठमाडौंसहित २९ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, वर्षासँगै परेको चट्याङले विभिन्न जिल्लामा मानवीय क्षति तथा चौपायाको मृत्यु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले वर्षाको मापनलाई स्पष्ट पार्दै २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई ‘भारी वर्षा’ र १०० मिलिमिटरभन्दा माथिको वर्षालाई ‘धेरै भारी वर्षा’ को रूपमा परिभाषित गरेको छ। निरन्तरको वर्षाले पूर्वी नेपालमा केही दिनअघिदेखि नै तापक्रम घटिसकेको छ भने अन्य क्षेत्रमा पनि आजदेखि गर्मी कम हुँदै जाने मौसमविद्हरूले बताएका छन् ।
राजमार्ग अवरुद्ध, खोलानालामा आकस्मिक बहाबको चेतावनी
लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व को दुम्किवासमा बनाइएको ‘डाइभर्सन’ आज बिहान बाढीले बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार साना तथा यात्रुवाहक सवारीसाधनलाई होङ्सी गेट हुँदै वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ।
यसैगरी, नवलपरासी, चितवन र पाल्पाका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम वर्षा भइरहेकाले त्यस क्षेत्रबाट बहने विनय खोला लगायत साना नदीहरूमा आकस्मिक बहाब बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्क रहन आग्रह गरिएको छ। सुदूरपश्चिमको डोटी र डडेलधुरामा पनि भारी वर्षा मापन भएकाले साना खोलामा बाढी र भिरालो जमिनमा पहिरोको जोखिम बढेको छ।
२९ जिल्लामा बाढीको जोखिम, ११ जिल्लामा ‘एल्लो वारेन्ट’
बाढी पूर्वानुमान महाशाखाले आज बिहान विशेष बुलेटिन जारी गर्दै देशका २९ जिल्लामा बाढीको जोखिम औंल्याएको छ । काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, चितवन, इलाम, मोरङ, कास्की, गोरखा, डोटी, डडेलधुरा लगायतका जिल्लाहरू भई बहने नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी रहेको महाशाखाले जनाएको छ।
यीमध्ये पनि भोजपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा र दार्चुलाका लागि ‘एल्लो वारेन्ट’ अर्थात् मध्यम स्तरको जोखिमको चेतावनी जारी गरिएको छ।
चट्याङको कहरः चारजना घाइते, चौपायाको मृत्यु
बुधबार साँझ वर्षासँगै परेको चट्याङले झापा र धनकुटामा गरी चार जना घाइते भएका छन् भने तीनवटा चौपाया मरेका छन्। झापाको बुद्धशान्तिमा ६० वर्षीय पुण्य पौडेल र शिवसताक्षीमा ४४ वर्षीया डम्बरकुमारी भुजेल घाइते हुनु भएको छ । शिवसताक्षीमा चट्याङले एउटा गाई पनि मरेको छ।
यता, धनकुटाको पाख्रीबासमा चट्याङ लागेर ७० वर्षीय सूर्यबहादुर बस्नेत र ५० वर्षीया टिकाकुमारी भण्डारी घाइते भएका छन्। बस्नेतको गोठमा बाँधिएको एउटा गोरु र एउटा भैँसीको पाडो मरेको छ, जसबाट करिब ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। संखुवासभामा पनि चट्याङले एउटा दुहुनो भैँसी मरेको छ। मौसमविद्हरूले वर्षाको समयमा चट्याङको जोखिम पनि उच्च हुने भएकाले घरबाहिर ननिस्कन र सुरक्षित रहन सुझाव दिएका छन् ।