
विराटनगर ७ आश्विन । जेनजी प्रदर्शनको मौका छोपी नख्खु र झुम्का कारागारबाट फरार भएका तीन कैदीलाई संखुवासभामा पक्राउ गरिएको छ। प्रहरीले चोरी, जबरजस्ती करणी उद्योग जस्ता मुद्दामा कैद भुक्तान गरिरहेका उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चैनपुर नगरपालिका १०का ४१ वर्षीय नारायण राई, चैनपुर नगरपालिका ९ का सुभाष तामाङ र चिचिला गाउँपालिका २ का गोम्बु शेर्पा रहेका छन् । चोरी मुद्दामा नख्खु कारागारमा रहेका राईलाई सोमबार चैनपुर १० स्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो। यस्तै जबरजस्ती करणी उद्योग मुद्दामा सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका तामाङ र जबरजस्ती करणी उद्योग मुद्दामा झुम्का कारागारबाटै भागेका शेर्पालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार राई नख्खु कारागारबाट भागेका थिए भने तामाङ र शेर्पा झुम्का कारागारबाट फरार भएका थिए। पक्राउ परेका तीनै जना कैदीलाई बुधबार क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको जिल्ला कारागारका प्रमुख जेलर राजन घिमिरेले बताउनुभयो। हाल जिल्ला कारागार खाँदबारीमा १ सय ३१ पुरुष, ८ महिला कैदीबन्दी र २ जना आश्रित बालबालिका रहेका छन्।