
काठमाडौं। १२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ १४ गतेदेखि चीनको पाँच दिने औपचारिक भ्रमणमा जानुहुने भएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, उहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सांघाई सहयोग संगठन एससीओको २५औँ शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री ओली भदौ १४ गते हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट तियान्जिन प्रस्थान गर्नुहुनेछ। सांघाई सहयोग संगठनको शिखर सम्मेलन भदौ १५ र १६ गते उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ। चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गर्नुहुने यस सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरूको सहभागिता रहनेछ। मन्त्रालयका अनुसार, यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियान्जिनमा महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै, भदौ १६ गते उहाँले तियान्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न मुलुकका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसै क्रममा उहाँले चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री ओलीलाई भदौ १८ गते बेइजिङमा आयोजना हुने जापानमाथि चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन निमन्त्रणा प्राप्त भएको छ। यस अवसरमा विशाल सैन्य परेडको आयोजना गरिनेछ। एससीओ शिखर सम्मेलन समाप्तिलगत्तै प्रधानमन्त्री ओली तियान्जिनबाट ‘हाइस्पिड’ अर्थात् द्रुत गतिको रेल चढेर भदौ १७ गते बेइजिङ प्रस्थान गर्नुहुनेछ। विश्वका शीर्ष नेताहरूका लागि चिनियाँ ‘चुच्चे रेल’ को अनुभव एक आकर्षक विषय हुने भएकाले यसको प्रयोग गरिनेछ। बेइजिङमा उहाँले भदौ १७ गते चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ। प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किनुहुनेछ।

एआइबाट तयार पारिएको सांकेतिक तस्विर
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसद छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनुहुनेछ। सन् २००१ मा स्थापना भएको सांघाई सहयोग संगठनमा हाल भारत, इरान, काजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान गरी नौ सदस्य राष्ट्र छन्। नेपाल सन् २०१६ देखि यस संगठनको ‘डायलग पार्टनर’ को हैसियतमा रहेको छ। यसपटक चीनले शिखर सम्मेलनलाई ‘एससीओ प्लस’ को स्वरूप दिँदै सदस्य राष्ट्रबाहेक पर्यवेक्षक र डायलग पार्टनरका राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई पनि आमन्त्रण गरेको छ। यस विस्तारित सहभागिताले नेपालका लागि महत्त्वपूर्ण अवसर सिर्जना गरेको छ, जहाँ प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत मध्य एसियाली राष्ट्रका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गरी सहज पहुँच स्थापित गर्न सक्नुहुनेछ। यसले भविष्यमा नेपाललाई सदस्य वा अब्जर्भर को हैसियतमा स्तरोन्नति हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ। चीनबाट स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ।