हाम्रो पेज
विराटनगर,१९ आश्विन । कोशी प्रदेशमा मनसुनको भीषण प्रभाव देखिएको छ, जसले गर्दा जनजीवन अस्तव्यस्त बनेको छ। अविरल वर्षाका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् भने बस्तीहरू डुबानमा परेका छन्। पहिरोमा परी दर्जनौंको ज्यान गएको छ, धेरै बेपत्ता र घाइते भएका छन्, र यो संख्या बढ्दै गएको छ। सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ । शनिवार साँझबाट बढ्न थालेको पानीको बहावले खतराको तह भन्दा धेरै माथि पुगेको सुनसरी प्रहरीले जनाएको छ । कोशी ब्यारेजमा मापन गरिए अनुसार सप्तकोशीमा अहिले ४ लाख ८६ हजार ७६० क्युसेक पानी प्रति सेकेन्ड बगिरहेको छ । पहाडी जिल्लाहरूमा निरन्तर पानी परिरहेकाले पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ पानीको बहाव बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । गत वर्ष पनि असोजमा सप्तकोशीमा पानीको बहाव अत्यधिक पुगेको थियो । गत वर्ष सप्तकोशीमा गत वर्ष पानीको बहाव ५ लाख ५७ हजार क्युसेक पुगेको थियो । अहिले ब्यारेज हुँदै चल्ने सवारीका साधन सञ्चालमा रोक लगाइएको छ । कोशी ब्यारेज हुँदै पूर्व पश्चिम राजमार्गमा सवारी साधन सञ्चालन हुँदै आएका छन् । शुक्रवार रातीदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ । शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो । जसमध्ये मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टले बताउनु भयो । उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना भएको थियो । हाइस जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो । २२ मध्ये २१ जनाको उद्धार गरिएपनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताउनु भयो । इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको जानकारी दिनुभयो । उदयपुरको गिरेबी खोलामा केही मानिसहरु डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भयो । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरु परिचालन गरेको बताउनु भयो ।

कोशी प्रदेशमा व्यापक क्षति
प्रदेशका अधिकांश नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले बाढीको जोखिम कायमै छ। झापा जिल्लामा माई खोलाको बाढी गाउँ पस्दा झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका विभिन्न वडाका करिब ५०० परिवार विस्थापित भएका छन्। झापा गाउँपालिकाको वडा नम्बर २ सुगा बथानमा ५६ घर विस्थापित भएका छन् भने वडा नम्बर १, ६ र ७ मा पनि दर्जनौं परिवार जोखिममा छन्। शिवसताक्षी नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा करिब ३५० घर डुबानमा परेका छन्। प्रहरी र स्थानीयको सहयोगमा विस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ। निरन्तरको वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका वडा नम्बर ६ कालिखोलामा आएको बाढीले सडक अवरुद्ध भएको छ। शिवसताक्षी १० मा सुकुना खोलाको ह्युमपाइपमा क्षति पुग्दा पनि राजमार्गमा आवागमन अवरुद्ध भएको छ। भद्रपुर नगरपालिका वडा नम्बर ६ मा २५ घर डुबानमा परेका छन्। लगातारको भीषण वर्षाले निम्त्याएको पहिरोले इलाममा ठूलो मानवीय क्षति भएको छ। पहिरोका कारण कम्तीमा १८ जनाको ज्यान गइसकेको छ। इलामका सूर्योदय, देउमाई, माङसेबुङ, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। अझै केही व्यक्ति बेपत्ता रहेको बताइएको छ। माङसेबुङ गाउँपालिका(१ मा एक गर्भवतीसहित २ जना गम्भीर घाइते भएकाले उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली खटिएको छ, तर मौसमको खराबीले उद्धारमा समस्या भइरहेको छ।
अन्यत्र पनि बाढीको असर
वीरगञ्जः वीरगञ्ज महानगर क्षेत्रमा पनि भारी वर्षाका कारण अधिकांश वडामा डुबान भएको छ। पानीको उचित निकास नहुँदा समस्या देखिएको हो। स्थानीय सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाइएको छ। वडा नम्बर ११ र १७ का डुबान क्षेत्रका जनतालाई सुरक्षित स्थानमा सारिँदै छ।
विराटनगरः कोशी प्रदेशको राजधानी विराटनगरको केशलिया र सिंघिया खोला किनारका बस्ती तथा वडा नम्बर ६ बरमपुरा र १२ को सम्पन्न बस्ती पनि डुबानमा परेका छन्।
सप्तकोशी नदीः सप्तकोशी नदीमा पानीको बहाव खतराको सतहभन्दा झन्डै तीन गुणा बढेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।
काभ्रेपलाञ्चोकः रोशी र बेथानचोक गाउँपालिकाका १०० जनालाई सुरक्षित स्थानमा सारिएको छ। रोशी गाउँपालिकाको खहरेपाँगु र शिखरआम्बोटेका जोखिम बस्तीका ३० परिवारलाई सारिएको छ। बीपी राजमार्गमा अलपत्र परेका १६ जनालाई रोशी गाउँपालिका भवनमा राखिएको छ। बेथानचोक गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा रहेको बस्तीका ७० परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ।