हाम्रो पेज
कैलाली, अषाढ १६ । आइतबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका जलमग्न भएको छ। भीषण वर्षाले करिब दुई हजार घर डुबानमा परेका छन् भने डुबानमा फसेका ८ जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी ७, बेली गाउँका सीताराम रानाको परिवारका चार जना र धनगढी १३, श्रीलङ्का टोलका भागीराम चौधरीको परिवारका चार जना गरी आठ जनाको उद्धार गरिएको हो। उद्धार गरिएका बेली गाउँका परिवारलाई आफन्तकोमा र श्रीलङ्काका परिवारलाई स्थानीय नवज्योति आधारभूत विद्यालयमा सुरक्षित रूपमा सारिएको छ।

महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले कैलालीमा भीषण वर्षा भएको पुष्टि गरेको छ। कार्यालयको वर्षा मापन केन्द्रमा आइतबार साँझदेखि सोमबार बिहानसम्म २१२।२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जसलाई अत्यधिक भारी वर्षा मानिन्छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढीका वडा नम्बर १, २, ३, ४, ५, ७, ८, १० र १३ लगायतका क्षेत्रहरू बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। करिब दुई हजार घरमा पानी पसेको प्रारम्भिक अनुमान भए पनि मानवीय क्षतिको विवरण भने आएको छैन। वर्षाका कारण धनगढीका मुख्य बजार क्षेत्र, पार्क मोड र रातो पुल लगायतका स्थानहरू पूर्ण रूपमा जलमग्न भएका छन्, जसले गर्दा जनजीवन अस्तव्यस्त बनेको छ। यसैबीच, धनगढीसँग जोडिएको मोहना नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ। नदीमा पानीको बहाव बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। धनगढीसहित गोदावरी, पुनर्वास र कृष्णपुर नगरपालिका क्षेत्रमा पनि वर्षाको प्रभाव देखिएको छ।
