हाम्रो पेज
झापा, ५ माघ ।लामो समय काठमाडौं उपत्यकामा सिमित रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन–जी आन्दोलनपछि लागू भएको यात्रा प्रतिवन्ध फुकुवा भएसँगै पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुग्नुभएको छ । सोमवार बिहान भद्रपुर विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उहाँको स्वागत भएको थियो । विमानस्थलबाट सिधै दमकतर्फ प्रस्थान गर्दै ओलीले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल शुरु गर्नुभएको छ । गत भदौमा भएको युवा नेतृत्वको जेन–जी आन्दोलनका क्रममा हिंसा भड्किएपछि जाँचबुझ आयोगले ओलीमाथि काठमाडौं उपत्यका बाहिर यात्रा गर्न रोक लगाएको थियो । आयोगले हालै प्रतिवन्ध हटाएसँगै ओलीको यो भ्रमणलाई चुनावी सरगर्मीको संकेतका रूपमा हेरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन र कार्यकर्तालाई निर्देशन दिन ओली झापा जानुभएको हो । एमालेले यसअघि नै उहाँलाई सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिसकेको छ । यो क्षेत्र ओलीको परम्परागत गढ मानिन्छ । जहाँ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह र अन्य प्रतिष्पर्धीहरूले पनि दाबी गरेका छन् । यो यात्रालाई ओलीको राजनीतिक कमब्याकको प्रतिकका रूपमा पनि लिइएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि शान्ति सुरक्षा अझै कायम हुन नसकेको बताउनुभएको छ । भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रवन्ध गर्न अभै नसकेको बताउनुभएको हो । विभिन्न प्रकारका अपराधिक घटनाहरु अझै समाजमा भइरहेकाले सुरक्षा प्रवन्ध कमजोर रहेको स्पष्ट हुने उहाँको दाबी छ । अध्यक्ष ओलीकाअनुसार निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ । नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुरक्षा प्रवन्ध राम्रो हुन अझै सकेको छैन । विभिन्न अपराधका घटना अझै भइरहेका छन् । निर्वाचन आयोगमाथि समेत प्रश्नचिन्ह उठ्ने अवस्था भइरहेको छ । यस्तो अवस्था छ । जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ । त्यसमा कुनै समस्या छैन । तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ । अझै त्यो स्थिति बनिसकेको छैन ।’ अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर पाँच कुनैपनि हिसावले निर्वाचनको इपि सेन्टर नरहेको बताउनु भयो ।