
काठमाडौं, २१, फाल्गुन । निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ। मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘विस्तृत विवरण सङ्कलन हुँदै छ। केही केन्द्रमा मतदान जारी रहेको आएका छन्। छिटपुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।’ मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने बताए। १५ जिल्लाको विभिन्न ६१ ठाउँमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन हुने बताउनुभयो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत मोरङ जिल्लामा प्रारम्भिक अनुमान अनुसार ६५ प्रतिशत मत खसेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले दिएको जानकारी अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ र करिब ६५ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदान सकिएसँगै अहिले जिल्लाका विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गर्ने र सुरक्षित रूपमा ढुवानी गर्ने कार्य भइरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार सबै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएपछि आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै स्थानमा गर्ने व्यवस्था मिलाइएको छ । जसमा क्षेत्र नं। १ को उर्लाबारी नगरपालिकाको कार्यालय, उर्लाबारी, क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर, सिजुवा, क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय, बेलबारी, क्षेत्र नम्बर ४ को जनता नमुना माध्यमिक विद्यालय, विराटनगर, क्षेत्र नम्बर ५ को सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालय, विराटनगर र क्षेत्र नम्बर ६ को आदर्श माध्यमिक विद्यालय, विराटनगरमा मतगणना हुनेछ । प्रशासनले मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारेको छ भने राजनीतिक दल र उम्मेदवारहरू पनि मतगणनाको प्रतीक्षामा रहेका छन् । मतपेटिकाहरू संकलन हुने क्रम जारी रहेकाले केही क्षेत्रमा मध्यरातदेखि नै गणना सुरु हुन सक्ने अनुमान गरिएको छ ।
