बालेन नेतृत्वको सरकार बन्न अझै १० दिन लाग्ने

हाम्रो पेज

१ चैत्र २०८२, आईतवार १३:०४

काठमाडौं,१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आगामी सरकारमा बन्ने मन्त्रीहरुको बारेमा औपचारिक छलफल नभएको प्रष्ट पारेको छ । पार्टीका प्रवक्ता मनिष झाले सञ्चारमाध्यममा आगामी मन्त्री भनेर आइरहेका नामहरुमा कुनै सत्यता नभएको बताउनुभयो । आज पार्टीको सचिवालय वैठक सुरु हुनुअघि उहाँले यस्तो बताउनु भएको हो । समानुपातिक सांसदहरु टुंग्याएर निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेपछि औपचारिक छलफल हुने उहाँको भनाइ छ । झाले भन्नुभयो , ‘अनौपचारिक कुराकानीहरु भएका हुन सक्छन्, तर पार्टीको तहमा भावि मन्त्रीपरिषदलाई लिएर कुनै पनि औपचारिक छलफल भएको छैन । सबै प्रक्रिया सकेर नयाँ सरकार बनाउन अन्दाजी १० दिन जति लाग्न सक्छ ।’ झाले आफू दोहोरिने सांसदमध्ये एक भएकाले केही अपेक्षा भए पनि कुनै मन्त्रालयगत दाबी नराखेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘रास्वपाको दोहोरिने सांसदमध्ये पर्दैगर्दा राजनीतिकरुपमा केही अपेक्षा स्वभाविक होला, तर मैले कुनै किसिमको मन्त्रालयगत दावी राख्नु राजनीतिकरुपमा र व्यवहारिकरुपमा उचित हुने सोचेको छैन । अहिले मेरो कामना भनेको नेताहरुको स्वास्थ्यलाभ चाँडै होस भन्ने हो । प्रक्रियाका कुराहरु चाँडै टुंग्याउन सकौं । आधारभूत प्रक्रिया चाँडै टुंग्याएर अघि बढोस भन्ने हो । पाउने मन्त्रालय र जिम्मेवारीहरु त्यसपछिका कुराहरु हुन् ।’ निर्वाचन आयोगले राष्ट्रिय ६ दलहरुलाई समानुपातिकको नामको सूची बुझाउन दिएको समय आज सकिदैछ । अहिलेसम्म एमाले र श्रम संस्कृतिले नामको सूची टुंग्याएका छन् भने रास्वपा, काग्रेस, नेकपा लगायत आज नाम टुंगो लगाएर आयोगमा बुझाउने तयारीमा छन् । समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाएका प्रत्यक्षतर्फ पहिलो बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४, ४ सिट पाएका छन् ।