search logo
NOTIFICATIONS

अमेरिकाद्वारा परमाणु केन्द्रमा हमला, मध्य इजरायलमा भीषण विस्फोट

हाम्रो पेज

८ असार २०८२, आईतवार १७:२४
एजेन्सी, ८ अषाढ I मध्यपूर्वमा तनाव खतरनाक स्तरमा चुलिएको छ। अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रमा बमबारी गरेपछि त्यसको जवाफमा इरानले इजरायलमाथि शक्तिशाली ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको छ। इरानी मिसाइल हमलाबाट मध्य इजरायलमा कम्तीमा १६ जना घाइते भएका छन् भने कैयौँ स्थानमा भौतिक क्षति पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका फोर्डो, इस्फहान र नतान्जस्थित परमाणु केन्द्रहरूलाई अमेरिकी हमलाले ध्वस्त पारेको दाबी गरेलगत्तै इरानले यो भिषण जवाफी कारबाही गरेको हो।


इजरायलमा भीषण हमला, देशभर साइरन
इरानले मिसाइल प्रहार गरेपछि इजरायलभर हवाई हमलाको चेतावनी दिने साइरन बजेको थियो। विशेषगरी तेल अभिभ र जेरुसेलमजस्ता प्रमुख सहरहरूमा शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो। इजरायलको म्यागेन डेभिड एडोम एमडीए उद्धार सेवाका अनुसार, मिसाइलको छर्रा लागेर एक ३० वर्षीय व्यक्ति गम्भीर घाइते भएका छन् भने अन्य १५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। इजरायली सार्वजनिक प्रसारक क्यान ११ ले मध्य इजरायलमा मिसाइलले ध्वस्त पारेको भवनको तस्बिर सार्वजनिक गरेको छ। इजरायली प्रहरीले उत्तरी बन्दरगाह हाइफा वरपर पनि मिसाइलका भग्नावशेषहरू खसेको पुष्टि गरेको छ। यो हमलामा इरानले पहिलो पटक आफ्नो सबैभन्दा उन्नत खैबरु ब्यालिस्टिक मिसाइल खुर्रमशहर ४ प्रयोग गरेको दाबी गरेको छ। इरानी मिडियाले खैबर मिसाइल प्रहार गरिएको भिडियो सार्वजनिक गर्दै यसले इजरायलमा भयानक विनाश मच्चाएको र इजरायलको अत्याधुनिक बहुस्तरीय हवाई रक्षा प्रणालीलाई समेत छेडेको दाबी गरेको छ। रिपोर्टहरूका अनुसार, इजरायलको एरो ३, डेभिड स्लिङ र आइरन डोमजस्ता विश्वप्रसिद्ध रक्षा प्रणालीहरू खैबर मिसाइललाई रोक्न असफल भएका छन्। यदि यो दाबी सत्य हो भने, यसले इजरायलको सुरक्षा रणनीति र मध्यपूर्वको शक्ति सन्तुलनमा गम्भीर प्रश्न खडा गरेको छ। इजरायल र इरानबीच जुन १३ देखि सुरु भएको यो द्वन्द्वमा अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ भने ५० भन्दा बढी पटक मिसाइल प्रहार भएको आधिकारिक रूपमा स्वीकार गरिएको छ। इजरायली सेनाका अनुसार, उनीहरूको हवाई रक्षा प्रणालीले अहिलेसम्म ४५० भन्दा बढी मिसाइल र करिब एक हजार ड्रोनलाई रोकेको छ। यद्यपि, खैबरजस्तो शक्तिशाली र हाइपरसोनिक क्षमता भएको भनिएको मिसाइलको प्रयोगले युद्धलाई नयाँ र अझ खतरनाक मोडमा पुर्‍याएको छ। यो घटनाले अन्तर्राष्ट्रिय समुदायमा पनि ठूलो चिन्ता पैदा गरेको छ।