हाम्रो पेज
विराटनगर, १९अषाढ । नेपाली युवा क्रिकेट टोलीले आफ्नो शानदार लय कायम राख्दै एसीसी पुरुष यू–१६ इष्ट जोन कपको उपाधि नजिक पुगेको छ। बिहीबार क्वालालाम्पुरमा भएको रोमाञ्चक सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले एकतर्फी रूपमा पराजित गर्दै नेपालले कीर्तिमानी चौथो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो। ब्याटिङमा परिमहर्जन यादवको विष्फोटक अर्धशतक र बलिङमा अभय यादवको घातक प्रदर्शन नेपालको जितको मुख्य आधार बन्यो। मलेसियाले प्रस्तुत गरेको ९१ रनको सामान्य लक्ष्य नेपालले केवल ११ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा सहजै पूरा गर्यो। नेपालको सुरुवात भने सामान्य रह्यो, जब ओपनर प्रसिद्ध जैसी व्यक्तिगत २ रनमा क्याच आउट हुन पुगे। तर, त्यसपछि क्रिजमा आएका श्रीवांस बजगाईँ र अर्का ओपनर परिमहर्जन यादवले मलेसियाली बलरहरूमाथि धावा बोले। दोस्रो विकेटका लागि यी दुई ब्याटरले मात्र ४५ बलमा ७५ रनको विस्फोटक र अविजित साझेदारी गरेपछि नेपालको जित सुनिश्चित भयो। परिमहर्जनले आक्रामक ब्याटिङ गर्दै मात्र ३५ बलमा ५ चौका र ५ छक्कासहित अविजित ५९ रनको तुफानी पारी खेले। उनलाई अर्को छेउबाट श्रीवांसले अविजित २३ रन बनाउँदै उत्कृष्ट साथ दिए। यो साझेदारीले नेपाललाई सानदार जित दिलायो।

त्यसअघि, सेनेङगर टर्फ क्लबमा टस जितेर फिल्डिङ रोज्ने नेपालको निर्णयलाई बलरहरूले पूर्ण रूपमा सही साबित गरेका थिए। नेपाली बलरहरूको अनुशासित र घातक बलिङसामु घरेलु टोली मलेसियाका ब्याटरहरूले खुलेर खेल्न सकेनन् र पूरा ओभर खेल्न नपाउँदै ४३।१ ओभरमा ९० रनमा अलआउट भए। मलेसियाका लागि मोहम्मद फाथुल मुइनले बनाएको ३८ रन नै सर्वाधिक रह्यो। कप्तान डियाज पट्रोले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका तीव्र गतिका बलर अभय यादव नायक बने। उनले आफ्नो स्पेलमा मात्र १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। अर्का बलर शुभम खनालले पनि उत्तिकै कसिलो र सानदार बलिङ गरे। उनले आफ्नो स्पेलमा ४ ओभर मेडन राख्दै मात्र १२ रन दिएर ३ महत्वपूर्ण विकेट चट्काए। त्यस्तै, विपिनप्रसाद शर्मा र सचिन भट्टले पनि समान एक(एक विकेट आफ्नो नाममा गरे।
प्रतियोगितामा कीर्तिमानी प्रदर्शन गरिरहेको नेपालले अब शनिबार हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। नेपालले उपाधिका लागि शनिबार फाइनल खेलमा सिंगापुरसँग भिड्नेछ । प्रतियोगिताभर अपराजित रहेको नेपाली टोली उच्च मनोबलका साथ उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

