हाम्रो पेज

उद्घाटन खेलमा डिसेम्बर ४ मा नेपालले त्रिवि मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्लेअफमा इटालीसँग खेल्दै यात्रा सुरु गर्नेछ। त्यसपछि डिसेम्बर ६ मा युगान्डा, डिसेम्बर १० मा यूएई, डिसेम्बर १२ मा जर्सी र डिसेम्बर १४ मा क्यानडासँग खेल्नेछ। त्यसपछि डिसेम्बर १८ मा नामिबिया र अन्तिम खेलमा डिसेम्बर २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। सबै खेल कीर्तिपुरमा हुने भएकाले घरेलु मैदान र समर्थकको साथ नेपालका लागि महत्त्वपूर्ण हुनेछ। नेपालले सामना गर्ने टोलीमध्ये नामिबिया, क्यानडा र यूएई लिग–२ कै प्रतिद्वन्द्वी हुन्। लिग–२ मा नेपालले यी तीनै टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ। तर च्यालेन्ज लिगबाट आएका इटाली, युगान्डा, जर्सी र कुवेतसँगको प्रतिस्पर्धा भने फरक चुनौती हुनेछ । इटालीसँग नेपालले टी(२० विश्वकपमा पहिलोपटक खेलेको थियो । ५० ओभरको क्रिकेटमा नेपालको तेस्रो भेट हुनेछ भने ओडीआई फर्म्याटमा पहिलो भेट हुनेछ । इटालीले ओडीआई नै पहिलोपटक खेल्न लागेको हो ।
यस्तै युगान्डासँग नेपालले सातौंपटक खेल्न लागेको हो । यसअघि यी दुई टोली ५० ओभरको खेलमा ६ पटक खेलेका छन् । युगान्डाका लागि पनि अब हुने प्लेअफका खेल पहिलोपटक ओडीआई खेल्ने अवसर हो । यता जर्सीसँग नेपालले सन् २०१० मा नेपालमै खेलेको थियो तर त्यसबेलाको अवस्था अनि मैदानसमेत फरक थियो। नेपालले जर्सीलाई त्यसबेला हराएको थियो भने पछिल्लोपटक नेदरल्यान्ड्समा भएको लिग २ सिरिजभन्दा अघि असारमा दुई अभ्यास खेल्दा दुवै खेल जितेको थियो । ओडीआईमा भने यी दुई टोली पहिलोपटक खेल्न लागेका हुन् ।