search logo
NOTIFICATIONS

सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

हाम्रो पेज

१२ मंसिर २०८३, शनिबार २१:५८

काठमाडौं, १२ मंसिर । सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको छनोटअन्तर्गत नेपालमा हुने प्लेअफ प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । घोषित टोलीमा अभिषेश गौतमले पहिलोपटक एकदिवसीय राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
टोलीमा सन्दीप लामिछाने कप्तान, आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले डिसेम्बर ४ देखि २१ सम्म नेपालमा प्रतियोगिता आयोजना गर्ने खेलतालिका सार्वजनिक गरिसकेको छ । प्रतियोगितामा नेपालसहित इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स यूएई गरी आठ टोली सहभागी हुनेछन् यी टोलीले विश्वकपको ग्लोबल छनोटमा बाँकी रहेका चार स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको खेल काठमाडौंको त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

उद्घाटन खेलमा डिसेम्बर ४ मा नेपालले त्रिवि मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्लेअफमा इटालीसँग खेल्दै यात्रा सुरु गर्नेछ। त्यसपछि डिसेम्बर ६ मा युगान्डा, डिसेम्बर १० मा यूएई, डिसेम्बर १२ मा जर्सी र डिसेम्बर १४ मा क्यानडासँग खेल्नेछ। त्यसपछि डिसेम्बर १८ मा नामिबिया र अन्तिम खेलमा डिसेम्बर २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। सबै खेल कीर्तिपुरमा हुने भएकाले घरेलु मैदान र समर्थकको साथ नेपालका लागि महत्त्वपूर्ण हुनेछ। नेपालले सामना गर्ने टोलीमध्ये नामिबिया, क्यानडा र यूएई लिग–२ कै प्रतिद्वन्द्वी हुन्। लिग–२ मा नेपालले यी तीनै टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ। तर च्यालेन्ज लिगबाट आएका इटाली, युगान्डा, जर्सी र कुवेतसँगको प्रतिस्पर्धा भने फरक चुनौती हुनेछ । इटालीसँग नेपालले टी(२० विश्वकपमा पहिलोपटक खेलेको थियो । ५० ओभरको क्रिकेटमा नेपालको तेस्रो भेट हुनेछ भने ओडीआई फर्म्याटमा पहिलो भेट हुनेछ । इटालीले ओडीआई नै पहिलोपटक खेल्न लागेको हो ।

यस्तै युगान्डासँग नेपालले सातौंपटक खेल्न लागेको हो । यसअघि यी दुई टोली ५० ओभरको खेलमा ६ पटक खेलेका छन् । युगान्डाका लागि पनि अब हुने प्लेअफका खेल पहिलोपटक ओडीआई खेल्ने अवसर हो । यता जर्सीसँग नेपालले सन् २०१० मा नेपालमै खेलेको थियो तर त्यसबेलाको अवस्था अनि मैदानसमेत फरक थियो। नेपालले जर्सीलाई त्यसबेला हराएको थियो भने पछिल्लोपटक नेदरल्यान्ड्समा भएको लिग २ सिरिजभन्दा अघि असारमा दुई अभ्यास खेल्दा दुवै खेल जितेको थियो । ओडीआईमा भने यी दुई टोली पहिलोपटक खेल्न लागेका हुन् ।