search logo
NOTIFICATIONS

चार्टर्ड एकाउन्टेन्ट पीयूष लुनियाको ईभी गाडी तस्करीमा प्रयोग: चालक दुईलाख धरौटीमा रिहा

हाम्रो पेज

११ मंसिर २०८३, शुक्रबार १३:०९
सशस्त्र प्रहरीले सीए पीयूष लुनियाको गाडीबाट नियन्त्रणमा लिएको तस्करीको सामान र गाडी
विराटनगर, १० मंसिर। चार्टर्ड एकाउन्टेन्ट एसोसिएसन मोरङका पूर्वअध्यक्ष सीए पीयूष लुनियाको विद्युतीय (ईभी) गाडी भारतबाट अवैध रूपमा सामान तस्करी गर्न प्रयोग भएको खुलेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानीले बुधवार दिउँसो १ बजेर ४० मिनेटमा विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट तस्करीको कस्मेटिक सामानसहित बरामद गरेको बागमती प्रदेश ०१–०३० च ८१८२ नम्बरको दिपल ईभी गाडी लुनियाको भएको खुलेको हो । उक्त गाडी लुनियाको अडिट फर्म ‘पी. लुनिया एन्ड एसोसिएट्स’ को नाममा दर्ता रहेको पाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारीका अनुसार शंका लागी जाँच गर्दा गाडीको अगाडिपट्टिको डिकीमा लुकाइछिपाइ ल्याउँदै गरेको एकलाख ५ हजार रुपैयाँ भन्दा बढीको कस्मेटिक सामान फेला परेको थियो। सशस्त्र प्रहरीले ५० लाख रुपैयाँ मूल्यांकन गरिएको गाडी र सामान गरी जम्मा ५१ लाख ५ हजार रुपैयाँ बराबरको मूल्यांकनसहित चालक सुन्दककुमार झालाई नियन्त्रणमा लिएर विराटनगर भन्सार कार्यालयमा बुझाएको थियो । ‘ड्युटीमा खटिएको टोलीले गाडीको अगाडिको डिकीबाट अवैध सामान बरामद गरेपछि चालक र सवारीसाधन नियन्त्रणमा लिएर भन्सार बुझाएको हो,’ एसपी भण्डारीले भने । चालक झा दुईलाख धरौटीमा रिहा भएका छन् I

अगाडी पट्टि रहेको डिकीमा लुकाएको सामान

कसरी भइरहेको थियो तस्करी ?
सुरक्षा स्रोतका अनुसार चालक झाले यसअघि पनि पटक–पटक तस्करीको सामान ओसारपसार गर्ने गरेको आशंका छ । ‘सामान्यतया अरू गाडीको डिकी पछाडि हुने भएकाले जाँच त्यता केन्द्रित हुन्थ्यो, तर यो ईभी गाडीको डिकी अगाडिपट्टि भएकाले सहजै छलिँदै आएको रहेछ,’ सुरक्षा स्रोतले भन्यो, ‘विशेष सूचनाका आधारमा अगाडिको डिकी खोलेर हेर्दा तस्करीको सामान फेला परेको हो ।’
लुनियाको ससुरालीतर्फको कस्मेटिक होलसेल पसल विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय पछाडिको चुलाचुली मार्गको गल्लीमा रहेको र बरामद सामान त्यही पसलका लागि ल्याइउने गरिएको स्रोतको दाबी छ । यस विषयमा आन्तरिक राजस्व कार्यालयले समेत अनुसन्धानको तयारी थालेको बुझिएको छ ।

चालक धरौटीमा रिहा, १४–१५ गते हकदाबी खुल्ने
विराटनगर भन्सार कार्यालयका अनुसार पक्राउ परेका सवारी चालक झा बिहीबार दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । भन्सार अधिकृत एवं अनुसन्धान अधिकृत सविन अधिकारीको इजलासले चालकको हकमा धरौटी रकम खुलाउने आदेश दिएको हो । तर, गाडी धनी र सामान धनीको हकमा भने मुद्दा अनुसन्धानकै क्रममा रहेको विराटनगर भन्सार कार्यालयका एक अधिकारीले जानकारी दिए ।

‘सवारी चालक बापतको २ लाख धरौटी बुझाएर चालक छुटेका छन्, तर मुद्दा प्रक्रियामै छ,’ ती अधिकारीले भने, ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले मालधनी र सवारीधनी आउने चरण बाँकी नै छ ।’
भन्सार दस्तावेजमा गाडी लुनियाको अडिट फर्मको नाममा रहेको देखिएको उल्लेख गर्दै उनले गाडी धनी आफैँ सम्पर्कमा नआएमा कानुनी प्रक्रियाअनुसार १५ दिनको म्याद राखेर हकदाबीको सूचना निकालिने बताए । ‘भन्सारले महिनामा दुई पटक १५ र ३० गते हकदाबीको सूचना निकाल्छ । आज ११ गते भएकाले अब १४–१५ गतेतिर १५ दिने म्यादसहितको हकदाबी निकाल्छौँ,’ उनले भने, ‘त्यसअघि नै सवारीधनी आफैँ बुझ्न आएमा हकदाबी कुरिरहनु पर्दैन ।’

लुनियाको दाबी: ‘चालकले गल्ती गरेछन्’
विराटनगर २, बन्जारा चोकस्थित इस्टर्न अपार्टमेन्टमा बस्दै आएका सीए पीयूष लुनियाले आफू तीन दिनदेखि काठमाडौँमा रहेको र बुधबार राति मात्रै विराटनगर फर्किएको बताउँदै चालकको लापरबाहीले घटना भएको दाबी गरेका छन् । ‘अफिसको स्टाफले विवाहको सिजन भएकाले केही सामान ल्याउनुछ भनेको रहेछ, चालकले सोही अनुसार सामान ल्याएर अगाडिको डिकीमा राखेछन्,’ लुनियाले भने, ‘१५–२० हजारको सामान हुनुपर्नेमा प्रहरीले १ लाखको सामान देखायो । म पनि हेरेर छक्क परेको छु ।’ यसअघि आफ्नो गाडीमा कहिल्यै यस्तो सामान नओसारिएको उनले जिकिर गरे ।

सीए पीयूष लुनिया