सुनकोशीमा यात्रुवाहक सुमो खस्योः तीन जनाको मृत्यु, ४ जना घाइते

हाम्रो पेज

२ कार्तिक २०८३, आईतवार ०७:२३

विराटनगर, १ कार्तिक । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ । जीप खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् । आइतबार बिहान करिब २ः३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जीप सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।

उद्धार गरिएकामध्ये ओखलढुंगा निवासी २९ वर्षीय चालक आशिष विष्ट बेहोस अवस्थामा छन्। खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र खोटाङको दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विकको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार र घटनाको विस्तृत विवरण संकलन भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।