हाम्रो पेज

विराटनगर, २१ भाद्र । धार्मिक आस्थाले जोडेको भेटी अब विपद्मा परेका नागरिकको सहारा बन्ने भएको छ। विराटनगरमा सम्पन्न ९५औँ श्रीराधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलित २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी विपद् पीडितको राहत तथा सहयोगमा खर्च गरिने भएको छ। रथयात्राका क्रममा संकलित भेटी रकमको गणना आइतबार बिहान सम्पन्न भएको हो। श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिनेछ। धार्मिक आस्थासँग जोडिएको रथयात्राबाट प्राप्त भेटीलाई यसपटक धार्मिक गतिविधिमा मात्र सीमित नराखी मानवीय सेवामा समर्पण गर्ने निर्णय समितिले गरेको हो। विशेषगरी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगमा उक्त रकम उपयोग हुने अपेक्षा गरिएको छ। संयोजक रेग्मीका अनुसार भक्तजनले श्रद्धापूर्वक अर्पण गरेको भेटीलाई संकटमा परेका नागरिकको सहयोगमा परिचालन गर्ने निर्णय गरिएको हो। “धार्मिक आस्थाबाट प्राप्त रकम विपद्मा परेका नागरिकको सहयोगमा लगाउन सकियो भने यसले धार्मिक भावनासँगै सामाजिक उत्तरदायित्वको सन्देश पनि दिन्छ,” रेग्मीले भन्नुभयो ।

गत भदौ १० गते रसुवा र नुवाकोटको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो धनजनको क्षति पुर्याएको छ। बाढी प्रभावित नागरिकका लागि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयास भइरहेका छन्। यही अवस्थामा विराटनगरको ऐतिहासिक रथयात्राबाट संकलित भेटी रकमसमेत बाढी प्रभावितको राहतमा लगाउने निर्णय गरिएको हो। रथयात्रामा चढाइएको भेटी मन्दिर वा धार्मिक गतिविधिमै खर्च हुने परम्पराभन्दा फरक, यसपटक त्यसलाई विपद्मा परेका नागरिकको जीवनमा राहत पुर्याउने माध्यम बनाउने निर्णय गरिएको छ।