हाम्रो पेज
पोखरा, २९ श्रावण I कास्कीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित मोदी खोलामा आएको बाढीका कारण माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।
शुक्रबार बिहान करिब २:१५ बजे मोदी खोलाको बीचभागमा रहेको माता अन्नपूर्ण मन्दिरसम्म पुग्ने पर्वत र कास्कीतर्फका दुईवटा मेटल पुल बाढीले बगाएपछि मन्दिरमा रहेका एक जना पुजारी र दुई जना भक्तजन फसेका थिए। घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १३ सदस्यीय रोप रेस्क्यु तथा गोताखोर टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन गरिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम सिग्देलले जानकारी दिनुभयो I
उद्धार अभियानमा नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १६ सदस्यीय टोलीसमेत सहभागी भएको थियो। बिहान ५:१५ बजेदेखि रोप रेस्क्युको तयारी सुरु गरिएको थियो। रोप रेस्क्यु प्रविधिको प्रयोग गर्दै बिहान ७:५५ बजेदेखि ८:१५ बजेसम्म मन्दिरमा फसेका तीनै जनालाई सुरक्षित रूपमा उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धार गरिएका व्यक्तिहरूमा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई हाल अन्नपूर्ण गाउँपालिका–८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा अध्यापनरत करिब ३० वर्षीय रेवन्तप्रसाद सिंह तथा भारतीय नागरिक ५२ वर्षीय निर्माण गिरी रहेका छन्। गिरी विगत पाँच वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा कार्यरत रहेको जनाइएको छ।
यसैबीच, अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडक खण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडक बाढीले बगाएको छ। बाढीले नयाँपुलस्थित विद्युत् पोलसमेत बगाएकाले उक्त क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आवागमनमा समेत समस्या उत्पन्न भएको छ।सशस्त्र प्रहरी बलले प्रभावित क्षेत्रमा निगरानी तथा आवश्यक उद्धार र राहत कार्यलाई निरन्तरता दिएको जनाएको छ।