search logo
NOTIFICATIONS

कोशी प्रदेश सरकारमा नेकपा मिसियो, हिक्मत कार्की सरकारमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

हाम्रो पेज

१ भाद्र २०८३, सोमबार १८:३१
विराटनगर, १ भाद्र । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमति बनेसँगै कोशी प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डलको कार्यविभाजनसमेत टुंग्याउनुभएको हो।
नयाँ संरचनाअनुसार मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ९ जना मन्त्री र २ जना राज्यमन्त्री रहनुभएको छ। सत्ता साझेदार दलहरूको सहभागिता विस्तार भएसँगै मन्त्रिमण्डलमा तीन जना महिलाले समेत महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ। नेकपाबाट खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। त्यसैगरी सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। मन्त्रिमण्डल विस्तारसँगै नेकपा एमालेबाट यसअघि सरकारमा रहनुभएका केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ भने रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
कार्यविभाजनअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैं सम्हाल्नुहुनेछ। खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालय, जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालय तथा तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ।

त्यसैगरी माननीय इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय, माननीय गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, विदुरकुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालय तथा रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ। स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीमा उमाकान्त गौतम तथा भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा माननीय सपना दर्जीलाई जिम्मेवारी प्रदान गरिएको छ। मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो। सोही सिफारिसबमोजिम माननीय प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहबीच नवनियुक्त माननीय मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। राज्यमन्त्रीहरूलाई भने मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।
नयाँ सत्ता सहकार्यअनुसार मन्त्रिमण्डल विस्तार भएसँगै कोशी प्रदेश सरकार सञ्चालनको संरचनाले पूर्णता पाएको छ। नेकपा एमाले र नेकपाबीचको सहकार्यसँगै प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणसमेत स्थापित भएको छ। साथै, मन्त्रिमण्डलमा तीन जना महिलाको सहभागिताले समावेशी प्रतिनिधित्वलाई थप सुदृढ बनाएको छ।