हाम्रो पेज
विराटनगर, १७ श्रावण । सर्लाहीसहित मधेशका जिल्लाहरुमा लामो दुरीका सवारी साधन सञ्चालनमा आउन थालेको छ । गाडी चल्न थालेपछि यात्रुलाई सहज भएको छ । यस क्षेत्रमा बिहीबार र शुक्रबार लामो दुरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु मारमा परेका थिए । शनिबारदेखि लामो दुरीमा चल्ने बस समेत सञ्चालन भएसँगै जनजीवन सहज बनेको हो ।
पूर्वको सिराहा, सप्तरी, सुनसरी, विराटनगरलगायत ठाउँमा जाने यातायातका साधन अझै पूर्णरुपमा खुल्न सकेका छैनन् । सर्लाहीको बस व्यवसायी दीपलाल महतोले अन्य दिनको तुलनामा शनिबारदेखि बस सञ्चालनमा सहजता भएको छ । आइतबार थप सहज अवस्था भएको बताउनुभएको छ । वीरगन्ज, बर्दिवास र जनकपुरतर्फका बस निर्वाध गुड्न थालेका र ढल्केबरदेखि पूर्वतर्फ पनि विस्तारै अवस्था सहज भइरहेकाले बस गुडाउन सुरु गर्ने तयारी रहेको महतोको भनाइ छ । पूर्वका धेरै ठाउँमा अहिले साना गाडीहरु हायस र वीङ्गरले भने फाट्टफुट्ट यात्रु ओसारपसार गर्दा सहजता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक झलक शर्माले शनिबारदेखि महेन्द्र राजमार्ग र अन्य भित्री सडकमा सवारीको चाप बढ्न थालेको बताउनुभयो । स्थानीय रुटमा चल्ने टेम्पु, म्याजिक, जीप, बस, बोलेरो भने सामान्य अवस्थामै नियमित सञ्चालनमा रहेका छन् । सङ्घीय राजधानी काठमाडौँसम्म प्रत्येक सवारी साधन निर्वाध आउजाउ गरिरहेका छन् । लालबन्दीस्थित रात्रि बसका काउन्टर सञ्चालक विजय लामाले नाइट बस सञ्चालनमा कुनै समस्या नरहेको बताउनुभयो । शनिबारदेखि सदरमुकामतर्फबाट चल्ने बसहरुको समेत टिकट काट्न सुरु गरिएको लामाले बताउनुभयो । मधेशका जिल्लाहरुमा आन्दोलन कम हुँदै गएसँगै हरेक सवारी साधन क्रमिक रुपमा सुचारु हुन थालेका छन् । यातायातसँगै मधेशका बजारहरु पनि साबिकझैँ खुल्न थालिसकेका छन् । सर्लाहीमा शुक्रबारको प्रदर्शनले बन्द भएका बरहथवा, बयलवास र मलङ्गवा बजार शनिबारदेखि खुलेका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जनजीवन सामान्यतर्फ उन्मुख रहेको जानकारी दिनुभयो ।
सप्तरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
सप्तरीमा लगाइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजबिराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाइने प्रशासनले जानकारी दिएको छ । राजबिराज नगरपालिकाको पूर्वमा खाडो खोलासम्म, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलहीसम्म, उत्तरमा रुपनी रोडको बसविट्टीसम्म र दक्षिणमा कोसी पश्चिम मूल नहरसम्म विष्णुपुर गाउँपालिका निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै, बोदेबरसाइन नगरपालिकाको पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्म निषेधाज्ञा जारी गरिएको हो ।